फाईल तस्बिर
नारायणपुर । दाङको गढवा गाउँपालिका–७ मोतीपुरका चोकनाथ चौधरीले उत्पादन गरेको मकै बिक्री हुन सकेको छैन । चौधरीले करीब एक विगाहा जमीनमा मकै खेती गरेका थिए । गत वैैशाख महिनामा तयार भएको बसन्ते मकै र हालै तयार भएको वर्षे मकै पनि बिक्री नभएको उनले बताए । मकै बिक्री गरेर भएको आम्दानीले घर खर्च चलाउने चौधरीलाई बिक्री नहुँदा समस्या भएको छ ।
गत वर्ष घरबाटै मकै बिक्री गरेका चौधरीले यस वर्ष मकै किन्नका लागि कोही नआएको बताए । गत वर्षको बिक्री मूल्यभन्दा आधा कम मूल्य कायम राख्दा पनि मकै बिक्री नभएको उनको भनाइ छ । कृषकले उत्पादन गरेका कृषि उत्पादन सरकारले मूल्य निर्धारण गरेर किन्ने व्यवस्था गरिदिएमा कृषकलाई सहज हुने चौधरी बताउछन् ।
सोही ठाउँका रामबहादुर चौधरीको पनि मकै बिक्री हुन सकेको छैन । उनले वैशाखमा तयार गरेको बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल बिक्री भएको छैन । गएको फागुनसम्म तयार भएको मकै रु ३५ केजीमा बिक्री भएपनि पछि उत्पादन भएको मकै बिक्री भएको छैन । मकैको भाउ अहिले बजारमा प्रतिकेजी रु १८ मात्रै छ । “बजार भाउमा नै बिक्री गरौँ भन्दा पनि ब्यापारीले लिन मान्दैनन्”, चौधरीले भने ।
लमही नगरपालिका८ सतबरियाका देउमन चौधरीले गत वर्षभन्दा आधा मूल्यमा मकै बिक्री गरेको बताए । गत वर्ष रु ३५ प्रतिकेजीको दरले मकै बिक्री गरेका चौधरीले यस वर्ष रु १८ प्रति केजीका दरले बिक्री गरेको बताए ।
बन्दाबन्दीले गर्दा दाना उत्पादन कम भएको कारण मकैको मूल्य घटेको ब्यापारीहरु बताउँछन् । उत्पादित मकै जिल्ला बाहिर नगएको र पशुको आहारा घटेको कारण किसानले मूल्य नपाएको पशुविज्ञ केन्द्र दाङका प्रमुख डा वेदबहादुर केसीले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।