काठमाडौं। नेपाल उद्योग परिसङ्घले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आर्थिक क्षेत्रलाई चलायमान बनाउने वातावरण निर्माण गरिदिन सरकारसँग आग्रह गरेको छ । परिसङ्घका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग भेटी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी कोरोना सङ्क्रमित नभएका जनशक्तिबाट आर्थिक क्षेत्रलाई चलायमान बनाउन आग्रह गरे ।
उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा सङ्क्रमण भेटिएमा कन्ट्याक ट्रेसिङका आधारमा कर्मचारी तथा कामदारको पिसिआर परीक्षण गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा परिसङ्घको प्रतिनिधिमण्डलले जोड दियो । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरुपमा सञ्चालन गर्नुपर्ने र चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको परिसङ्घले जनाएको छ ।
निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आबद्ध गराई उपचार तथा क्वारेन्टाइन र आइसोलेशनका सेवा प्रदान गर्न निजी क्षेत्रलाई पनि दिनुपर्ने धारणा परिसङ्घले राखेको थियो । मौद्रिक नीतिमा व्यवस्था भएका कतिपय व्यवस्था कार्यान्वयनमा नआएको तथा उत्पादनमूलक उद्योगमा लकडाउन अवधिभर विद्युत्को डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको विद्युत् खपतमा ५० प्रतिशत छुट दिने बजेटमार्फत घोषणा गरिएकामा हालसम्म सो व्यवस्था कार्यान्वयनमा नआएको विषयमा परिसङ्घले सरकारको ध्यानाकर्षण गराएको थियो । सो अवसरमा पूर्वअर्थमन्त्री डा खतिवडाले परिसङ्घले उठाएका विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र कतिपय विषय कार्यान्वयनका तहमा समेत छलफल भइरहेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।