काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर घटदै गएपछि स्वेच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.समिरकुमार अधिकरीले एक सूचना जारी गर्दै सङ्क्रमण दर घट्दै गएपछि कोभिड–१९को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वेच्छिक बनाएको बताए । यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो ।मन्त्रालयले सङक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र कोभिड-१९ को विरुद्धको खोप लगाएको प्रमाण आवश्यक नभएको बताए ।
उनले अब कोभिड-१९ को कडाइको रुपमा मापदण्ड पालना गर्नुपर्नेलाई सहज गर्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी दिए । मन्त्रालयले कोभिड-१९ को सङ्क्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको र अधिकांश मानिसले कोभिड-१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र छिमेकी मुलुक भारतमा पनि कोभिड-१९ को सङ्क्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ परीक्षण र कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो ।
मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका विरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ ।
मन्त्रालयले कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति कृतज्ञता व्यक्त गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।