काठमाडौं । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन् ।
कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनको भनाइ छ । उनले भने, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”
भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।
जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।
रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।