फाईल तस्बीर
कपिलवस्तु । महाराजगञ्ज सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजना अन्तर्गत महाराजगञ्जमा सबस्टेशन निर्माण गरिएको हो ।
विद्युत्को पहुँचबाट टाढा रहेका जिल्लाका हरदौना, कुशहवालगायत गाँउमा विद्युत् प्रवाह गर्नका लागि महाराजगञ्ज सबस्टेशनबाट सेवा शुरु गरिएको कृष्णनगर विद्युत् प्राधिकरणका प्रमुख मक्सुद आलम शेखले जानकारी दिएका छन् । सबस्टेशन नहुँदा चन्द्रौटा वितरण केन्द्रबाट विद्युत् प्रवाह हुँदै आएको थियो । महाराजगञ्ज सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरेर जिल्लाको सेवालाई चुस्तदुरुस्त बनाइएको शेखले बताए ।
जिल्लाका बुटहनीया, मर्यादपुर, तौलिहवा र हरदौना क्षेत्रका करिब एक हजार घरधुरीले सबस्टेशनबाट विद्युत् सेवा पाउने नेपाल विद्युत् प्राधिकरण बुटवल डिभिजन कार्यालयका प्रमुख मनोजकुमार श्रेष्ठले जानकारी दिए । कुल रु. तीन अर्बको लागानीमा निर्माण सम्पन्न भएको आयोजनाले जिल्लामा विद्युत् सेवा प्रवाहमा सजिलो हुने प्रमुख श्रेष्ठको भनाइ छ ।
ए टु जेड इन्फ्रा निर्माण कम्पनीले सन २०१६ देखी सबस्टेशन निर्माण कार्यको जिम्मा पाएको थियो । दुई वर्षसम्म निर्माण पुरा गर्ने सम्झौता भए पनि विभिन्न कारणले निर्माण कार्य ढिलो सम्पन्न भएको कम्पनीका प्रबन्धक सागर लुईँटेलले जानकारी दिए ।
नेपाल विद्युत् प्राधिकरणको वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनाअन्तर्गत महाराजगञ्जबाट ३३ केबिए विद्युत् लाइनलाई कन्ट्रोल गरी ११, ११ केबिए प्रसारण गरिएको हो । आज विश्वकर्मा पूजाको दिन पारेर सबस्टेशनबाट विद्युत् प्रसारण शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण कृष्णनगर शाखाले जनाएको छ । प्राधिकरणले जग्गा खरिद गरेर सबस्टेशन निर्माण गरेको हो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।