काठमाडौं । सिन्धुपाल्चोक जिल्लामा विद्यालय संचालनको तयारी सुरु भएको छ । कोभिड–१९ महामारीबाट लामो समयदेखि प्रभावित विद्यालयहरु कसरी संचालनमा ल्याउने भन्नेबारेमा भने केही अन्यौलता देखिएको छ । जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गर्दै लकडाउन खुकुलो भएसँगै कुन–कुन क्षेत्र कसरी संचालनमा ल्याउने भन्नेबारे सुचित गरेको छ ।
जहाँ शैक्षिक संस्थाहरु संचालन नहुने बताइएको छ । साथै, प्रशासनक कार्यहरु संचालन हुने र भर्चुअल तथा अनलाईन लगायतका शिक्षा मन्त्रालयबाट स्वीकृत कार्यविधि बमोजिम शिक्षण कार्य भने हुने भनेर उल्लेख गरिएको छ ।
नेपाल सरकारले भनेको अनुसार नै आफूहरुले शैक्षिक संस्थाहरुमा अनलाईन तथा भर्चुअल माध्यमबाट पढाइ हुने तर शैक्षिक संस्थाहरु नखोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकालले मेगाखबरलाई बताए ।
जिल्लाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीका अनुसार बुधबार शिक्षा समितिको बैठक बसेर विद्यालय खुल्ने निर्णय गरिएको छ । माविका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुको बिहीबार बस्ने बैठकले अझै यसबारे निर्णय लिने उनले बताए । अहिले गाउँपालिकाभित्र कोरोना भाइरस संक्रमित नभएको र माथिल्लो भेगहरुमा तुरुन्दै बाहिरको मान्छेसँग सम्पर्क हुने अवस्था पनि नभएको कारणले केही विद्यालयमा केही कक्षाहरु सुरु गर्नका लागि लागेको बताए ।
शिक्षा मन्त्रालयको निर्देशिका अनुसार त्यसको मनसाय सम्बन्धित गाउँपालिकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक अनुसार कक्षा संचालन गर्नेपर्ने जस्तो देखिएर संचालन गर्न लागेको उनले बताए ।
‘विद्यार्थी सिकाई सहजीकरण निर्देशिका–२०७७ को २० नम्बर बुँदामा सिकाई सहजीकरण सम्बन्धि विशेष व्यवस्था उल्लेख गरिएको छ ।’ उनले अघि भने,‘त्यसको २ नम्बरमा यस निर्देशिकामा अन्यन्त्र जे सुकै लेखिएको भएपनि कुनै क्षेत्र विषेशमा नियमित विद्यालय संचालन हुन सक्ने अवस्था भएमा प्रत्यक्ष सिकाई क्रियाकलाप संचालन गर्न बाधा पुग्ने छैन भनिएको छ ।’
सोही बुँदालाई आधार मान्दै आफूहरुले केही विद्यालयहरुमा केही कक्षाहरु संचालन गर्ने र रोगको प्रकोप सबैलाई हेरेर सहज भयो भने खोल्दै जाने र असहज हुँदा त्यसलाई नियन्त्रण गर्ने योजना आफूहरुको रहेको उनले बताए ।
साथै, सिन्धुपाल्चोकका अन्य स्थानिय तहहरुमा विद्यार्थी सिकाईका अन्य कार्यहरु सुरु भइसकेको छन् । तर, नियमित विद्यालय भने खुलेका छैनन् ।
त्यस्तै, उप–प्रमुख सुशिला पाख्रिनले तत्कालै विद्यालय नखुल्ने बताइन् । आफूहरुलाई केन्द्रबाट आएको निर्देशन अनुसार विद्यालय संचालनमा अघि बढ्ने उनले बताइन् ।
उता, शिक्षक महासंघ, सिन्धुपाल्चोकका अध्यक्ष ध्रुबराज गिरीका अनुसार आजबाट शिक्षकहरु विद्यालयमा आउन थालेको र सरकारले जारी गरेको कार्यविधि अनुसार कसरी अघि बढ्न सकिन्छ भन्नेर छलफल हुनेछ ।
उनले विद्यार्थीहरुलाई रोटेशनमा पालिकास्तरिय बैठक बसेर सिफारिस गर्दा जिल्ला कोभिड नियन्त्रण समितिले अनुमति नदिएपछि वैकल्पिक विधिलाई कसरी प्रयोग गर्ने भन्नेबारे छलफल गर्ने बताए । जिल्ला प्रशासन कार्यालयको निर्देशनलाई मानेरै अघि बढेको र अहिले नै विद्यार्थी विद्यालयमा बोलाउन असक्षम भएको उनले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।