शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

पर्वतका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस

पर्वतका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस

मेगा खबर संवाददाता

१, आश्विन २०७७
  • 2.2K
    SHARES

  • पर्वतका सात वटा बस्ती स्थानान्तरण गर्न सिफारिस

    फाईल तस्बीर

    पर्वत । लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् । 

    नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ । सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिएका छन् । केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।  

    नगरपालिकाको विपद् व्यवस्थापन समितिका अनुसार वडा नं– ४ मुडिकुवाको चुरी, वडा नंं– १० कुर्घाको फल्ला,  वडा नं– २ थापाठानाको दरदरे, वडा नं– ३ शङ्करपोखरीकोे पुर्कोट, सोही वडाको रुग्दी र वडा नं– ६ देवीस्थानको राहले बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको शर्माले जानकारी दिए । अधिकांस बस्ती सडक निर्माणका कारण जोखिममा परेका हुन् ।  सबैभन्दा बढी कुर्घामा २५ घर र चुरीमा २० घर जोखिममा छन् । 

    सङ्घ र प्रदेश दुवै सरकारमा सिफारिस गरी पठाइएको र नगरबाट सम्बोधन हुनसक्ने जोखिमयुक्त ठाउँमा भने नगरले नै योजना बनाएर पुनःस्थापनाका कार्य अघि बढाउने शर्माले बताउनुभयो । त्यस्तै बाढीपहिरोका कारण नगरपालिकाभित्र रहेका खानेपानी, विद्युत्, सिँचाइका योजनाहरुमा पनि क्षति पुगेको छ । ती योजनाहरुलाई मर्मत गर्न सम्बन्धित कार्यालयमा माग गरी पठाउने निर्णयसमेत बैठकले गरेको छ । 

    अविरल वर्षाका कारण पहिरो जाँदा पहिरोमा पुरिएर गत सोमबार वडा नं ४ मुडिकुवास्थित शिर्सुवामा स्थानीय नवीन विककी तीन वर्षीया छोरी निकिता विकको ज्यान गएको थियो । सोही दिनको वर्षाका कारण नगरका सबैजसो वडामा क्षति पुगेको थियो । वर्षाका कारण अवरुद्ध मुख्यमुख्य ग्रामीण सडकहरुमा निर्माणाधीन भए सम्बन्धित आयोजनालाई र अन्यमा नगरपालिकाको स्काभेटर लगाएर खुलाउने निर्णयसमेत गरेको नगरप्रमुख शर्माले जानकारी दिए । 

    बिहिवार, आश्विन १ २०७७११:४८:५७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार