बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

लोपोन्मुख चराको संख्या बढ्यो

लोपोन्मुख चराको संख्या बढ्यो

मेगा खबर संवाददाता

१, आश्विन २०७७
  • 3.2K
    SHARES

  • लोपोन्मुख चराको संख्या बढ्यो

    फाईल तस्बीर

    भरतपुर । चितवन राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा लोपोन्मुख चराको सङ्ख्या बढेको छ । ताल तलैया र घाँसे मैदानमा पाइने पानीमा आश्रित लोपोन्मुख चराको सङ्ख्या बढेको बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष बासु बिंडारीले जानकारी दिएका छन् । नदी ताल तलैयामा माछा मार्न प्रतिबन्ध लगाएपछि र पानीको सतह कायम राख्न बाँध लगाएपछि चराको सङ्ख्या बढेको उनले बताए ।

    राजधनेश, लोभिपापी गरुड, कालो गरुड, भुँडीफोर गरुड, घाँसे चरी र घेघरी घाँसे फिस्टे चराको सङ्ख्या बढेको बिंडारीले बताए । नेपालको चितवनमा मात्रै देखिने लामो ठुडे भ्याकुरको अवस्था पनि राम्रो भएको उनले बताए । चितवन निकुञ्ज आसपासको क्षेत्रमा चिलको प्रजातीका चराको अवस्था पनि राम्रो छ । चितवनमा गिद्ध प्रजातीको चरा कम हुँदै गएपनि नवलपुर क्षेत्रमा सङ्ख्या बढ्दो छ । राजमयुर, खरमयुर, कृष्ण गरुड र सेतो गरुड कहिलेकसो देखिने गरेको बिंडारीले बताए । चितवनमा आधाभन्दा बढि प्रजातीका चराको सङ्ख्या बढेको छ ।

    लोपोन्मुख दुर्लभ चरा पानीमा आश्रित धेरै छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका बाटुली ताल, टिकौली ताल, लामी ताल, गरुण तालमा चराको सङ्ख्या उल्लेख्य देख्न सकिन्छ । कुमरोज सामुदायिक वनदेखि सौराहाको ड्यामसम्मको क्षेत्रमा पनि चरा धरै देखिन्छन् ।

     
    चितवनको बर्ड सेन्चुरी (चराको मुख्य बासस्थान)को रुपमा टिकौलीको ताल क्षेत्र विकास भइरहेको छ । पूर्वपश्चिम राजमार्गबाट सय मिटर दूरीमा रहेको बीसहजारी ताल विश्व रामसार सूचीमा सूचिकृत छ । ताल आसपासमा सालका अग्ला रुख रहेका र ताल नजिकै खेती हुने क्षेत्र रहेकाले चराले ताल वरिपरी गुण लगाउने र खेतीमा विचरण गर्ने चराविद् बताउँछन् ।

    विश्वबाट लोप हुन लागेका ४४ प्रजातीका चरा नेपालमा पाइन्छन् ।  तीमध्ये चितवनमा मात्रै ३४ प्रजातीका चरा पाइन्छन् । नेपालमा पाइने ८४१ प्रजातीका चरामध्ये चितवनमा मात्रै ६४१ प्रजातीका चरा पाइन्छन् । नेपालमा विभिन्न सङ्घ संस्थाले चराको संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन् ।

    बिहिवार, आश्विन १ २०७७११:०६:०७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार