पर्वत । फलेवास नगरपालिका–४ मुडिकुवास्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । स्थानीयवासी नवीन विकको घर पुरिँदा उनकी तीन वर्षीया छोरी निकिताको मृत्यु भएको हो ।
गए राति २ बजेदेखि निरन्तर परेको वर्षापछि घरमाथिबाट खसेको पहिरामा पुरिएकी बालिकालाई बिहान करिब ७ बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेका हुन् । परिवारका अन्य व्यक्ति भने पहिरो खसिरहेका अवस्थामा भागेर बाँच्न सफल भएको फलेवास प्रहरीचौकीले जनाएको छ । बाह्र जनाको संयुक्त परिवार बसेको घरमा पहिराले क्षति पुर्याएको हो ।
घरमाथिबाट पहिरो खस्न थालेपछि निदाइरहेकी छोरीलाई काखमा लिएर भाग्ने क्रममा ढुङ्गाले लागेर खसेपछि स्थानीयवासीले खोजी शुरु गरेका थिए । पहिराले विकका दुई भैँसी र दुई गाईसमेत पुरिएका छन् । त्यस्तै पहिराबाट स्थानीयवासी रामप्रसाद तिवारीको गोठ भत्किँदा गोरु मरेको छ । सोही पहिराका कारण करिब १०० रोपनी धानखेतमा क्षति पुगेको वडाध्यक्ष टीकाराम गौडेलले जानकारी दिए ।
पर्वत प्रहरीका प्रवक्ता एवं निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार राति पहिरो खसेपछि मध्यपहाडी लोकमार्गको पर्वतखण्ड अवरुद्ध भएको छ । कुश्मा–८ चुवा र कुश्मा–१ पाङको सहस्रधारामा खसेको पहिराले राजमार्ग अवरुद्ध भएको हो ।
त्यस्तै कुश्मा नगरपालिका–२ स्थित रिठेखोलामा आएको बाढीले समेत यातायात अवरुद्ध बनेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।