शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

सीमामा सशस्त्रको उपस्थिति बढ्दै

सीमामा सशस्त्रको उपस्थिति बढ्दै

मेगा खबर संवाददाता

२९, भाद्र २०७७
  • 1.6K
    SHARES

  • सीमामा सशस्त्रको उपस्थिति बढ्दै

    बैतडी । भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी बलले आफ्नो उपस्थिति बढाउँदै गएको छ ।  भारतसँग सीमा जोडिएको  जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरी बलको सीमा निगरानी चौकी (बिओपी) स्थापना हुने भएको छ । चालु आर्थिक वर्षमै जिल्लाका थप तीन ठाउँमा सशस्त्र प्रहरीको बिओपी स्थापनाको काम अघि बढेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीले जनाएको छ ।  

    जिल्लाको पञ्चेश्वर गाउँपालिकाको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा बिओपी स्थापनाको तयारी भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिएका छन् । उनले भने, “सीमा क्षेत्रमा हुनसक्ने विभिन्न खालका आपराधिक गतिविधि रोक्नका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको हो ।”

    बैतडीको भारतसँग ६१ किलोमिटर सीमा जोडिएको छ । सीमा जोडिएको क्षेत्रको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर सशस्त्र प्रहरीले जिल्ला तीन ठाउँमा बिओपी स्थापना गरिसकेको छ । जिल्लाको झुलाघाट नाका, पञ्चेश्वर रोलघाट र शिवनाथको कुस्मौत घाटमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेर सेवा दिइरहेको छ ।

    सीमा क्षेत्रमा हुने अपराध न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी, मानव बेचबिखनलगायतका घटनामा रोक लगाउनका लागि सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाउँदै लगेको प्रहरी नायब उपरीक्षक शाहले बताए । उनले भने, “तत्कालका लागि भौतिक संरचनाको अभाव भए पनि सशस्त्र प्रहरीले भाडाका भवन बसेर समेत सेवा दिइरहेको छ ।”

    विस २०७५ मा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मको बैतडीमा स्थापना भएको थियो । उक्त गुल्म सदरमुकामस्थित गढीमा रहेको छ । त्यसपश्चात यही भदौ २५ गते भारतसँग सीमा जोडिएको बैतडीको शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाट,  गत असार १६ गते पञ्चेश्वर गाउँपालिकाको रोलघाट र गत जेठ १० गते सीमानाका झुलाघाटमा बिओपी स्थापना भएको थियो । 
     
    कोरोना भाइरससँग लडिरहेको सरकारले सशस्त्र प्रहरीलाई देशभरका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । नेपालतर्फको सीमा नाकामा भारतको ५३० बिओपी रहेका छन् । नेपाल सरकारले पनि सोहीअनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।

    सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पुर्याउने तयारी गरेको छ । कोरोना सङ्क्रमणका कारण सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रूपान्तरण गर्ने सरकारी तयारी रहेको हो ।

    सोमवार, भाद्र २९ २०७७०९:५१:०८

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार