बलेवा । आज बिहान आएको पहिरामा परी बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा बेपत्ता भएकी ७० वर्षीया जालपादेवी पौडेलको शव भेटिएको छ । यसअघि पहिरोमा परी वडा नं–१ कुश्मिशेराको टुनिबोटकी ६० वर्षीया लक्ष्मी पौडेलको मृत्यु भएको थियोे । मृतक दुवै वृद्धाको शवपरीक्षणको तयारी भइरहेको छ ।
पहिरामा टुनिबोटका ७० वर्षीय मणिभद्र पाध्याको घाइते अवस्थामा उद्धार गरिएको छ । उनका छोरी देवी शर्मा सामान्य घाइते छिन् । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचार भइरहेको प्रहरी निरीक्षक हेम केसीले जानकारी दिएका छन् ।
बागलुङ–कुश्मिशेरा सडक निर्माणका क्रममा लगाइएको तारजालीसहितको पहिराले टुनिबोटका तीन घरमा क्षति पुर्याएको स्थानीयवासी केदार पौडेलले जानकारी दिए । पहिराले सो नगरपालिकामा चार घर पुरेको छ । दुई घर विस्थापित भएको नगर उप–प्रमुख लीला रानाले बताए ।
टुनिबोटमा केही पशुचौपायासमेत मरेका छन् । पहिराले तीनवटा गोठमा समेत क्षति पुर्याएको छ । वर्षा नरोरिएकाले उद्धारमा कठिनाइ भइरहेको पौडेलले बताए । जैमिनी–५ बिनामारेको सिम्लेमा पहिराले एक घर नीलकण्ठ पौडेलको परिवारका अन्य ६ जना घाइते भएका छन् ।
बाँसको झ्याङले अँठ्याएको अवस्थामा परिवारका अन्य ६ जनाको उद्धार गरिएको वडाध्यक्ष गोपाल पौडेलले जानकारी दिए । घाइतेहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिशेरामा उपचारका लागि पठाइएको छ । जैमिनीको दुवै वडामा गएको पहिराको मुख्य कारण सडक निर्माणका क्रममा बनाइएका संरचना भएको स्थानीयवासीले बताएका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।