गण्डकी । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य निर्धारित समयमा नै सम्पन्न हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन । उक्त विमानस्थल निर्माणको आज स्थलगत निरीक्षण गर्दै उनले कोरोना सङ्क्रमणका बाबजुद विमानस्थलको निर्माण निरन्तर भइरहेको बताए ।
विमानस्थललाई निर्धारित समयमा नै सम्पन्न गरी यसको सञ्चालन गराउने कुरामा सरकार लागिरहेको उल्लेख गर्दै उनले कोरोना सङ्क्रमणका कारण साधन श्रोत एवम् जनशक्ति अभाव हुन नदिन सरकारका तर्फबाट आवश्यक सहजीकरण गर्नेमा विश्वस्त तुल्याए ।
उनले निर्धारित लक्ष्यअनुसार नै सन् २०२१ भित्रमा विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आई अन्तर्राष्ट्रिय उडान शुरु हुने विश्वास व्यक्त गरेक छन् । कोरोनाका कारण झण्डै छ महिनायता रोकिएका आन्तरिक एवम् अन्तर्राष्ट्रिय उडान सञ्चालको तयारी भइरहेको उनको भनाइ थियो ।
सो अवसरमा सांसद विद्या भट्टराईले पोखरालगायत मुलुककै समृद्धिमा महत्वपूर्ण बन्ने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधीन काम समयमा सम्पन्न गर्न आप्mना तर्पmबाट सक्रिय सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख विनेश मुनकर्मीले विमानस्थलको निर्माण हालसम्म ६४ प्रतिशत सम्पन्न भएको जानकारी दिए । भौतिक पूर्वाधार निर्माणको काम अधिकाँश सम्पन्न भइकेको उल्लेख गर्दै उनले उपकरण जडानलगायत काम बाँकी रहेको बताए ।
विमानस्थलभित्र टर्मिनल भवन, ह्याङगर, धावनमार्ग, पार्किङ, पौंचमार्गसहित १४ भवन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । उनका अनुसार विमानस्थलको निर्माणमा हाल १८० चिनियाँ र ९० नेपाली कामदार निरन्तर संलग्न छन् । आवश्यक उपकरण जडानका लागि उपकरणसहित थप २०० दक्ष जनशक्ति चीनबाट आउने तयारीमा रहेको मुनाकर्मीको भनाइ छ ।
कोरोना सङ्क्रमणका कारण निर्माणको गतिमा केही प्रभाव परेका कारण तोकिएको मितिभन्दा छ महिनाअगावै सक्ने लक्ष्य प्रभावित भए पनि निर्धारित समयमा नै निर्माण सम्पन्न हुने उनको भनाइ छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।