काठमाडाैँ, माघ १६
ललितपुरको ग्वार्कोमा कार र ट्याक्सी आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
ग्वार्कोस्थित बि एण्ड बि अस्पताल नजिकै हिजो राति कार र ट्याक्सी आपसमा ठोक्किँदा घाइते भएका आठजनामध्येमा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसरका ललितपुरका एसपी प्रविण पोखरेलले जानकारी दिए ।
बा २ ज ३४२० नम्बरको ट्याक्सी र बा ४ च १ नम्बरको कार ठोक्किएका हुन् । ट्याक्सीमा सवार एक जना र कारमा सवार एक जनाको मृत्यु भएको हो । ट्याक्सीमा ६ जना सवार थिए भने कारमा दुई जना सवार रहेका थिए । ट्याक्सीमा सवार सुनसरी घर भई ललितपुर महानगरपालिका ताल्छिखेल बस्ने ४७ वर्षीय सरोजकुमार विक र कारमा सवार चितवन घर भई टोखा नगरपालिका-७ ग्रीनल्यान्ड बस्ने प्रकाश आचार्यको मृत्यु भएको हो ।
दुर्घटना भएपछि उनीहरूलाई बिएन्डबी अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो । अन्य ६ जनालाई सामान्य चोट लागेको एसपी पोखरेलले बताए ।
कार चालक विकले मदिरा पिएको खुल्न आएको छ तिव्र गतिका कारण उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी वृत्त सातदोबाटोबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।