काठमाडाैँ, माघ ११
आत्मदाहको प्रयास गरी उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएका प्रेमप्रसाद आचार्यको शव आफन्तले बुझेका छन् । गृहमन्त्री लामिछानेले आचार्यले उठाएका मुद्दालाई राज्यले गम्भीर रूपमा लिने र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने आश्वासन दिएसँगै आफन्तले शव बुझेका छन् ।
आचार्यले ‘सुसाइड नोट’मा उल्लेख गरेका २५ बुँदालाई मागका रूपमा आउँदा दिनमा सरकारसमक्ष पेस गरिने उनका आफन्त छविलाल पौडेलले बताए । उनका अनुसार अब आचार्यको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिँदै छ ।
इलामका ३६ वर्षीय आचार्यले हिजो नयाँ बानेश्वरस्थित संघीय संसद् भवन अगाडि आफैँमाथि पेट्रोल छर्किएर आगो लगाएका थिए । त्यहाँबाट उद्धार गरी प्रहरीले उनलाई कीर्तिपुर बर्न अस्पतालमा पुर्याएको थियो । उनको उपचारका क्रममा आज बिहानै ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।