काठमाडौं,माघ ९ गते
माइतीघरमा धर्ना बसेकी रुबी खान पक्राउ परेकी छन् । निर्मला कुर्मी र नकुन्नी धोबीको हत्याबारे अनुसन्धान हुनुपर्ने र आरोपी बादशाह कुर्मीलाई पक्राउ गर्नुपर्ने मागसहित धर्नामा बसेकी खानलाई सोमबार बबरमहलस्थित जिल्ला अदालतबाट सिंहदरबारतर्फ लागिरहेका बेला पक्राउ गरिएको हो ।
उनीसहित अन्य केही अधिकारकर्मीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार उनीहरु माइतीघरबाट र्यालीसहित अगाडि बढिरहेका थिए । अधिकारकर्मीको टोली बबरमहलस्थित जिल्ला अदालतको अगाडिको बाटो हुँदै सिंहदरबारतर्फ अघि बढेका बेला पक्राउ परेका हुन् ।
आजको कार्यक्रममा वृहत नागरिक आन्दोलनले साथ दिएको छ । निर्मला कुर्मी हत्याको छानबिनका लागि न्यायिक आयोग गठनको माग गर्दै २४ दिनदेखि चलिरहेको धर्नालाई शक्ति र समर्थन दिन आफूहरू माइतीघर भेला भएको अभियन्ताहरूले बताएका छन् । महिला अधिकारको पक्षमा सिल्पी थिएटरका युवाहरूले सडक नाटक देखाएका थिए ।
यसअघि गृहमन्त्री रवि लामिछाने धर्नामा बसेकी खानसहित अभियन्ताहरूलाई भेटेका थिए । शनिबार भेटेर लामिछानेले कुर्मी र धोबीको हत्यारा पत्ता लगाई कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए ।