काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष र विभागीय प्रमुखसँग आज (बुधबार) मन्त्रालयमा भएको संयुक्त बैठकमा मन्त्री भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रका नागरिकलाई सेवा उपलब्ध गराउन जहाज खरिद प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।
पर्यटनमन्त्री भट्टराईले आन्तरिकतर्फ दुई टुईनटर जहाज भएको र त्यसले माग धान्न नसक्नुका साथै दुर्गम क्षेत्रमा सेवा प्रदान गर्न नसक्ने भएकाले तत्काल खरिद योजना अघि बढाउन निगम व्यवस्थापनलाई आग्रह गर्नुभयो । उहाँले निगमलाई पब्लिक मोडलमा लैजान कुन समय उपयुक्त हुन्छ त्यसको खाका लगानी कोष, कर्मचारी सञ्चय कोष, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गरी तयार गर्न निर्देशन दिएका छन् ।
मन्त्री भट्टराईले नेपाल एयरलाईन्स ठूलो आर्थिक ऋणमा रहेकोले देशका विभिन्न २३ ठाँउमा रहेका जग्गा व्यावसायिक उपयोग गरी निगमको आर्थिक अवस्था सुधार गर्न समेत आग्रह गरे । खर्चकटौती तथा मितब्ययीता अपनाउन, विदेशमा रहेका कर्मचारी कटौती गर्न, बैठक भत्ता घटाउन साथै कर्मचारी, बोर्डका पदाधिकारी र अवकाश पाएका कर्मचारीले पाउने सुविधा बापतको टिकट ५० प्रतिशत कटौती गर्न समेत आग्रह गरे ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।