कर्णाली। गत आर्थिक वर्षमा एक हजार ८२० मिटर सडक मात्रै कालोपत्रे गरेर आलोचना खेपेको प्रदेश सरकारले यस वर्ष प्रदेश राजधानीका सडक विस्तार तथा स्तरोन्नतिलाई तीव्रता दिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय अन्तर्गत वीरेन्द्रनगरमा सडकका ३६ योजना कार्यान्वयनमा रहेका छन् ।
निर्देशनालयका इन्जिनीयर सूर्य शाहीले ती सडक योजनाहरु प्रदेश राजधानी सहरी सडक, जनता सडक र समपुरक प्याकेजअन्तर्गत निर्माण भइरहेको बताए । सडक निर्माणका लागि गत आर्थिक वर्ष पुस, माघ र जेठमा सम्झौता भएका थिए तर कोरोना भाइरसविरुद्ध अपनाइएको लकडाउनका कारण निर्माण रोकिएको थियो । प्रदेश सरकारले निर्माण आयोजनालाई ‘विशेष पास’ उपलब्ध गराएपछि ती सबै आयोजना जेठबाट सञ्चालनमा ल्याइएको हो ।
इन्जिनीयर शाहीका अनुसार रु ३७ करोड ८५ लाख लागतमा निर्माणाधीन सडक योजना चालु आवमै सम्पन्न गर्ने लक्ष्य छ । “लकडाउन खुकुलो भएसँगै असार मसान्तभित्र काम सक्ने गरी निर्माण व्यवसायीलाई ताकेता गरिएको छ”, उनले भने , “लकडाउनको शुरुआती चरणमा तीन महिना काम प्रभावित हुन पुग्यो, अहिले सबै आयोजनामा धमाधम काम भइरहेको छ ।” हाल सडक विस्तार गरी नाली निर्माण र ग्राभेलको काम भइरहेको छ । निर्माणाधीनमध्ये ६० प्रतिशत सडक कालोपत्रे गर्ने र बाँकी सडकको स्तरोन्नति गर्ने लक्ष्य रहेको बताइएको छ । यस वर्ष प्रदेश सरकारले सुर्खेत उपत्यकामा २५ किमी कालोपत्रे गर्ने लक्ष्य लिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।