काठमाडौं । भारतले आफ्नो मातहतको गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनका विरुद्ध प्रयोग गर्न लद्दाखमा हालै तैनाथ गरेको विषयप्रति ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ ।
भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३÷९ जिआर र ४÷१ जिआरका झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल–चीन सम्बन्धमा अप्ठ्यारो र धाँजा पार्ने डरलाग्दो खेल खेल्न खोजेको मोर्चाको ठहर छ ।
मोर्चाका तर्फबाट अध्यक्ष फणीन्द्र नेपालले आइतबार विज्ञप्ति जारी गर्दै सन् १९४७ नोवेम्बर ९ को गोर्खा भर्ती सम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई नेपाल फर्कन आदेश जारी गर्न सरकारलाई अनुरोध गरेका छन् ।
‘नेपाल र नेपालीको निकटतम मित्र चीनका विरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पुर्याउने’ भन्दै उनले गोर्खा भर्ती सम्झौता तत्काल रद्द नगर्ने हो भने चीन र इन्डियाबीच अनपेक्षित रूपमा युद्ध भड्किएका खण्डमा नेपाल–भारतको पक्षबाट चीनविरुद्धको युद्धमा सामेल भएको मान्न कर लाग्ने प्रष्ट पारेका छन् ।
‘तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।