काठमाडौं । आज रातो मत्स्येन्द्रनाथको क्षमा पूजा गरिँदैछ। बिहीबार रथ तान्न खोज्ने स्थानीयलाई कोरोना संक्रमणको जोखिमका कारण प्रहरीले रोक्न खोजेपछि झडप भएको थियो।

त्यसपछि बिहीबार साँझ अबेरसम्म जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले आज क्षमा पूजा गर्ने तथा आइतबार सोह्रखुट्टे पाटीसम्म रथ तानेर संक्षिप्त विधिबाट बाँकी प्रक्रिया पूरा गर्ने निर्णय गरेको थियो। जिल्ला प्रशासन कार्यालय ललितपुर, जात्रा व्यवस्थापन कार्यदल, ज्यापू समाज, ललितपुर महानगरपालिका, स्थानीय १९ जातीय समूहहरू (खलः पुचः), गुठी संस्थान लगायत अन्य सरोकारवालाको बैठकले त्यस्तो निर्णय गरेको थियो।
त्यसपछि १९ जातीय समूहहरूको तर्फबाट जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले विज्ञप्ति जारी गरेर कोभिड–१९ को कारणले उत्पन्न विषम परिस्थितिका कारण यो वर्ष मात्रै सम्बन्धित सबैको सहमतिमा सबै विधि प्रक्रियाहरू हाल रथ रहेकै स्थानमा सम्पन्न गर्ने जानकारी दिएका छन्।
गत वर्षहरूमा पुल्चोकबाट शुरू हुने रथ यात्रा गाः बाहल–सुनधारा–लगनखेल–इती टोल हुँदै जावलाखेल पुग्थ्यो। त्यहाँ भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई बुङमती पुर्याइन्थ्यो। रथ भने हरेक १२ वर्षमा एकपटक मात्र बुङमती पुराइन्थ्यो।

पछिल्लो पटक भुकम्प गएको साल २०७२ मा त्यसरी रथलाई बुङमती पुर्याइएको संयोजक महर्जनले जानकारी दिए।यसपटक रथलाई पुल्चोकबाट घुमाएर जावलाखेलसम्म पु¥याइने कार्यलाई संक्षिप्त विधिबाट पूरा गर्न लागिएको हो। त्यसका लागि आइतबार २१ भदौमा अहिले रथ रहेको स्थानबाट करीब पाँच मिटर जस्तो उत्तरपट्टी रहेको पुल्चोकस्थित सोह्रखुट्टे पाटी पुराइनेछ।
त्यसको अर्को दिन साइत हेरेर प्राप्त हुने दिनमा (सम्भवतः २६ भदौमा) रातो मस्त्येन्द्रनाथ बुङ्मती प्रस्थान गराइने संयोजक महर्जनले बताए। विगतका वर्षहरूमा भोटो देखाएपछि खटमा राखेर मत्स्येन्द्रनाथलाई बुङमती पुर्याइएजस्तै यसपटक पुल्चोकबाटै खटमा राखेर बुङमती लगिनेछ।
पुल्चोकमा बिहीबार झडप भएपछि स्थानीय प्रशासनले ललितपुरको चक्रपथ भित्र कर्फ्यू जारी गरेको छ। कर्फ्यूका बीच रथ भएको स्थानमा क्षमा पूजा गरिएको हो।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।