काठमाडाैँ, कार्तिक २२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले निर्वाचन केन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयले कोभिड–१९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड–१९ को संक्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरेका छन् ।
उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताए । डा .अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान आग्रह गरेका छन् ।
उनले भने,ठूलो मात्रामा मानिसहरु एक ठाउँ भीडभाड हुनु भनेको सामान्य अवस्थामा पनि जनस्वास्थ्यका हिसावले जोखिमपूर्ण नै मान्छौँ । त्यसमा एउटा मानिसमा भएको कुनैपनि किसिमको संक्रमण अरु मानिसमा थप जानसक्छ । त्यसले गुणात्मक रुपमा वृद्धि भएर धेरै मानिसलाई प्रभाव पार्नसक्छ भन्ने हिसावले हामीले धेरै मानिसको भीडभाड हुने कुराहरुलाई जनस्वास्थ्यको हिसावले निकै ठूलो चासोको रुपमा लिइन्छ र निगरानी गरिन्छ ।
अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरुलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ । कोभिडको कुरा मात्रै भएन, अरु किसिमका संक्रमण पनि कसैलाई छन् भने, रुघाखोकी पनि कसैलाई छन् भने थप धेरै मानिसहरुलाई हुनसक्छ । धेरै मानिसहरु बिरामी हुनसक्ने अवस्थाहरु हुनसक्छ ।
ती सबै कुराहरुलाई मध्यनजर गरेर हामीले मास्कको प्रयोग गर्नुपर्छ, त्यस्ता भीडभाडहरुमा जानुपर्ने अवस्था आउँदा । सकेसम्म नजाने । कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरु सकेसम्म त्यसरी ननिस्किने । खोप अनिवार्य रुपमा लगाउने । पूर्ण मात्रा लगाइसकेको तीन महिना कटिसकेको छ भने त्यस्ता व्यक्तिहरुले समयमै एक अतिरिक्त मात्रा बुस्टर मात्राको रुपमा लगाउनुपर्ने हुन्छ ।
हातको सरसफाईमा विशेष ध्यान दिने । शरीर र लत्ता कपडाहरुको सरसफाईमा विशेष रुपमा ध्यान दिने ग¥यौँ भने सबै किसिमका संक्रामक रोगहरु छन् जुन भीडभाडबाट जोखिमपूर्ण हुनसक्छन् त्यसलाई नियन्त्रण गर्नसक्छौँ । उनले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताए । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उनको भनाइ छ । संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारेका छन् ।
डा.अधिकारीका अनुसार अहिलेसम्ममा ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्येमा साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्येमा शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।