शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

मेगा खबर संवाददाता

१७, भाद्र २०७७
  • 1.9K
    SHARES

  • कोरोनाले आमापछि छोराको मृत्यु, परिवारका सङ्क्रमित ६ जना विचलित

    भक्तपुर। कोरोना सङक्रमणबाट ६२ वर्षीया आमाको मृत्यु भएको चार दिनमा ४० वर्षीय छोराको पनि मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका–७, नगदेश निवासी सङ्क्रमित परिवारका अन्य ६ जना निकै विचलित भएका छन् ।

    यही भदौ १३ गते सङ्क्रमित आमाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको र सोही अस्पतालमै भेन्टिलेटरमा उपचारका क्रममा सङ्क्रमित छोराको गए राति मृत्यु भएको हो । छोराबाट आमामा सङ्क्रमण भएको आशङ्का गरिएको छ । 

    श्वासप्रश्वासमा समस्या आएको आमाको परीक्षणमा कोरोना पुष्टि भएपछि परिवारका अन्य सदस्यको पनि पिसिआर परीक्षण गर्दा परिवारका सबैमा सङ्क्रमण भएको पाइएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । भदौ १ गते आमालाई पाटन अस्पताल भर्ना गरिएको र श्वासप्रश्वासमा समस्या आएपछि ३ गते छोरालाई पनि पाटन अस्पताल नै लगिएकामा आमाको उपचारका क्रममा १३ गते र छोराको उपचारका क्रममा १६ गते राति मृत्यु भएको उनले जानकारी दिए । आमालाई दमको रोग र छोराले उच्च रक्तचापको औषधि सेवन गरिरहेका परिवार स्रोतले जानकारी दिएको छ ।

    मृतकका करीब ७० वर्षीय बाबु, गर्भवती श्रीमती, एक बहिनी, एक छोरा, एक छोरी र घरका अन्य एक सदस्यलाई पनि सङ्क्रमण पुष्टि भएपछि सबै होम आइसोलेसन मै बसेका छन् । नगरप्रमुख श्रेष्ठले भने, “आज स्वास्थ्य टोली लिएर म घर मै गए, मृतकका वृद्ध बुबा र गर्भवती श्रीमतीको स्वास्थ्यमा ध्यान दिनु जरुरी छ, हामीले सान्त्वना दिएर आएका छौँ, बिहीबार केही महिनालाई पुग्ने खाद्यान्न राहत दिन्छौँ र विचलित त्यो परिवारको अवस्था निकै हृदयविदारक छ ।”

    सङ्क्रमित परिवारको घर आसपास क्षेत्रमा भाइरस डिसइन्फेक्सन गरेको, परिवारलाई स्यानिटाइजर पठाएको बताउँदै त्यो परिवारलाई मनोपरामर्श र अन्य सहयोग आवश्यक रहेको उनको भनाइ छ । भक्तपुर जिल्लामा एकै परिवारका दुई जनाको ज्यान गएको यो पहिलो घटना हो भने अहिलेसम्म सङ्क्रमणबाट नौ जनाको मृत्यु भएको छ ।

    बुधवार, भाद्र १७ २०७७०७:२४:१३

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार