काठमाण्डौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले लामखुट्टेको टोकाईबाट सर्ने डेंगु रोगको रोकथाम तथा नियन्त्रण गर्नका लागि आभिमुखिकरण कार्यक्रम गरेको छ ।
कपन स्वस्थ्य चौकीसगँको सम्मन्वयमा सोमबार बु.न.पा १२ का जनप्रतिनिधि लगायत स्वास्थ्यकर्मीहरुले समुदायमा पुगेर डेंगु रोगबारे जनचेतना फैलाउदै र यसको जोखिम कम गर्न आभिमुखिकरण कार्यक्रम संचालन गरेका छन् ।
काठमाडौमा दिनानुदिन डेङु बिरामीको चाप बढ्दै गइरहेको र स्थिति भयबह हुनबाट रोक्न जनचेतना फैलाउने उद्धेश्यले घरदैलो अभियान संचालन गरेको बु. न. पा. १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले बताउनुभयो । जनमानसमा सामान्य जानकारी समेत नहुँदा संक्रमण फैलिरहेको र यसलाई नियन्त्रण गर्न अभियान सुरु गरेको बताउदै उहाले पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको र डेंगु रोगको पहिचान नियन्त्रण र रोकथामको लागि लामखुट्टेको लार्भा तथा अन्डा नष्ट गर्ने अभियान थालिएको जानकारी दिनुभयो ।
स्वस्थ्यबिज्ञका अनुसार डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ ।
विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ । दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् ।