काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ ।
आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा प्राकृतिक विपत्तिका कारण भएको मानवीय र भौतिक क्षति एवम् अस्थायी बसोबासको प्रबन्धबारे जानकारी गराएका थिए ।
भेटमा सभामुख सापकोटाले जोखिममा परेका बस्तीहरुको भौगर्भिक अध्ययन गर्न टोली पठाउने, विस्थापितहरुको स्थानान्तरणसहित स्थायी बसोबासका लागि एकीकृत मोडेल बनाउने, अरनिको राजमार्ग व्यबस्थित गर्ने र जुरे पहिरो पीडितका लागि जनस्तरबाट संकलित रकम निकासा लगायतका विषयहरु उल्लेख गरेका थिए ।
जवाफमा प्रधानमन्त्री ओलीले सिन्धुपाल्चोकमा परेको विपत्ति र जनधनको क्षतिका विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नुहुँदै सम्बन्धित कार्यहरु यथाशीघ्र अघि बढाइने बताए ।
साउन ३० गतेको लिदी पहिरोबाट विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका १ बाँसखर्कमा अस्थायी बसोबासको व्यवस्था मिलाईएको छ । यही भदौ १० गते सभामुख सापकोटाले बाँसखर्क पुगेर अस्थायी बसोबासका लागि आएका लिदीबासीलाई सोलार, भाँडाकुँडा, लत्ताकपडा एवम् सरसफाइका सामाग्रीहरु हस्तान्तरण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार जिल्लाका लिदी, जम्बु, मेलम्ची, फुल्पिङ लगायतका स्थानमा बाढी र पहिरोमा परी यस बर्ष मात्रै ५६ जनाको मृत्यु भएको छ भने २६ जना अझै बेपत्ता छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।