काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
पनिकाले वार्षिक परीक्षा आफैँले सञ्चालन गर्ने र सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ । यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै सवारी साधन सञ्चालन भएपछि पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्ताबाट वार्षिक परीक्षा गर्ने तयारी रहेको थियो । “अहिलेको स्थितिमा दशैँ अगाडि कुनै पनि परीक्षा गर्न सहज छैन”, उनले भने, “अब वार्षिक अन्तर्गतका सबै परीक्षा दशैँपछि नै हुन्छन् ।”
उनका अनुसार मङ्सिर १५ वा २० गतेदेखि परीक्षा गर्ने गरी तयारी गरिने बताए । (पनिका)ले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । चारवर्षे शैक्षिक कार्यक्रमलाई ४८ महिनामा सकाउने लक्ष्य पनिकाको रहेको छ । अहिले ती चारवर्षे शैक्षिक कार्यक्रम ४५ देखि ४६ महिनामा सकिने गरेका छन् ।
धेरै विद्यार्थी भएको तहमा भर्चुअल परीक्षा असम्भव
परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाका सहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने बताए ।
“सेमेष्टर परीक्षाका बारेमा भर्चुअल माध्यमबाट परीक्षा लिने भन्ने कुरा पनि चलेको छ”, उनले भने, “तर कति सम्भव हुन्छ डिन कार्यालयले बुझाएको प्रतिवेदन बुझाएपछि गर्ने वा नगर्ने भन्ने हुन्छ ।” उनले सेमेष्टर प्रणालीका पनि धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नभएको बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।