काठमाडौं। विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि आजदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने भदौ १६ देखि हुनेछ ।
त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबारदेखि हुने उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । उडान तालिका अनुसार मङ्गलबार युएईको सारजहाँबाट एयर अरेबियाले नेपालीलाई काठमाडौं ल्याउनेछ । बुधबार इत्तिहाद एयरले आवुधाबी र फ्लाई दुबईले दुबईबाट यात्रु ल्याउने जनाइएको छ । यस्तै नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको उडान तालिका बिहीबार मात्र छ । त्यस दिन नेपाल एयरलाइन्सले रियाद र हिमालयले दमामबाट यात्रु काठमाडौँ ल्याउने छ । सोही दिन युरोप र अमेरिकाका यात्रुलाई टर्किस एयरले काठमाडौं ल्याउने तालिका तय गरिएको छ ।
एयरलाइन्सले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको समन्वय र सहकार्यमा मात्रै यात्रु नेपाल ल्याउन पाउनेछन् । नेपाल आउने सबै यात्रुको अनिवार्य पिसीआर रिपोर्ट हुनुपर्नेछ । सबै यात्रुले अनिवार्य सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने र खर्च उनीहरुले नै बेहोर्नुपर्नेछ । टर्किस र कतार एयरले एक उडानमा मात्र सय जनासम्म बोक्न पाउने गरी अनुमति दिएको पर्यटन मन्त्रालयले बनाएको उडान तालिकामा उल्लेख छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।