काठमाडौँ । कोरोना सन्त्रास बढ्दै गइरहेका बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ ।
मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको प्रदर्शनमा स्वास्थ्यकर्मीको सम्मान गरौँ, सुरक्षाकर्मीलाई सहयोग गरौँ, सञ्चारकर्मीको संरक्षण गरौँ, सर्वत्र सद्भाव प्रदर्शन गरौँ भन्ने आग्रह गरिएको थियो ।
प्रदर्शनमा समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार होमकान्त चौलागाईँ र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले सङ्कटका घडीमा स्वास्थ्य, सुरक्षा र सञ्चार क्षेत्र ज्यादा संवेदनशील रहेकाले काममा सहयोग गर्नुपर्नेमा जोड दिए ।
उनीहरुले अत्यावश्यक सेवाका यी क्षेत्रप्रति सबैले सहयोग गर्नुपर्नेमा जोड दिँदै यस्ता संवेदनशील क्षेत्रमा कार्यरतको सधैँ सम्मान र सहयोग गर्न सबैलाई आग्रह गरे ।
प्रदर्शनमा डेढ दर्जन अधिकारकर्मीको सहभागिता थियो । सुरक्षा विधि अपनाएर भौतिक दूरी कायम राख्दै कार्यक्रम आयोजना गरिएको सभापति पुडासैनीले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।