शुक्रवार, कार्तिक २१ २०८३Nov 06 2026

  • TRENDING NOW :

मरेका हात्तीमा क्षयरोग देखिएपछि परीक्षण शुरु

मरेका हात्तीमा क्षयरोग देखिएपछि परीक्षण शुरु

मेगा खबर संवाददाता

८, भाद्र २०७७
  • 2.0K
    SHARES

  • मरेका हात्तीमा क्षयरोग देखिएपछि परीक्षण शुरु

    चितवन । राष्ट्रिय निकुञ्जका मरेका हात्तीमा क्षयरोगको जीवाणु देखिएपछि जिउँदो हात्तीको आजदेखि नमूना सङ्कलनको काम शुरुआत गरिएको छ । निकुञ्जमा ५९  हात्ती  छन् ।

    निकुञ्जका वरिष्ठ पशु चिकित्सक  विजय श्रेष्ठले सौराहाका हात्तीमा क्षयरोग परीक्षणका लागि नमुना सङ्कलनको काम शुरुआत भएको जानकारी दिए । हात्तीको कान वा पुच्छरको नशाबाट रगतको नमूना सङ्कलन गर्न थालिएको छ । 

    हात्ती प्रजनन केन्द्र खोरसोरमा २०  र सौराहामा आठ  हात्ती  छन् । ती हात्तीको नमूना सङ्कलन गर्न चारदेखि पाँच दिन लाग्ने उनले बताए । यसपछि पोष्टमा रहेका हात्तीको नमूना सङ्कलन गरी परीक्षणका लागि पठाइने छ ।

    काठमाडौँको सेन्टर फर मोलिकुलर डाइग्नोसिस नामको निजी प्रयोगशालामा नमूना पठाइने छ ।अहिले क्षयरोगको मात्र परीक्षण गरिने उनले जानकारी दिए ।

    सन् २००२ यता क्षयरोगका कारण निकुञ्जका १५ हात्तीको अकालमा मृत्यु भएका छन् ।  सो अवधिमा अन्य कारणसहित २५ हात्ती मरेको तथ्याङ्क छ ।

    जिल्लाका हात्तीमा पहिलो पटक सन् २००२ मा क्षयरोग देखिएको थियो । सो सङ्क्रमण सन् २०१६ सम्म जारी नै रह्यो ।  त्यतिबेला निकुञ्जका १७, निजी ४१ र राष्ट्रिय प्रकृति संरक्षण कोषका दुई हात्तीमा क्षयरोग देखिएको थियो ।
    त्यसपछिका केही वर्ष सङ्क्रमण नदेखिए पनि सन् २०१८ यता क्षयरोगका कारण चार हात्ती मरेको अनुमान छ ।

    चिकित्सक श्रेष्ठका अनुसार पछिल्लो पटक गत साउन १९ गते मरेको दीपेन्द्रगजमा क्षयरोगको सङ्क्रमण थियो ।
    यसअघि मरेका तीन  हात्तीको पोष्टमार्टमका क्रममा फोक्सोमा समस्या देखिएकाले  क्षयरोगको सङ्क्रमण भएको अनुमान गरिएको उनको भनाइ छ ।

    यस क्षेत्रमा निजी होटलका पनि ५७  हात्ती छन् । उहाँ हात्तीमा दोस्रो चरणमा क्षयरोग देखा परेको अनुमान गर्छन् । समयमा नै उपचार गर्न सकेमा हात्ती बचाउन सकिने जनाउँदै उहाँले उपचारको कामलाई तीव्रता दिन लागिएको बताए ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले क्षयरोग परीक्षणको काम तत्काल शुरु गर्न लागिएको जानकारी दिए ।

    क्षयरोग देखिएमा उपचार गरेर हात्तीलाई निको पार्न सकिने भएकाले सबै हात्तीको परीक्षण गरिने उनको भनाइ छ । निकुञ्जका हात्ती विभिन्न पोष्टमा सुरक्षाका लागि राखिएका छन् भने निजी हात्ती पर्यटक बोक्नका लागि होटलले प्रयोग गर्दै आएका छन् ।
    निकुञ्ज हात्ती सफारीका लागि अन्तरराष्ट्रिय रुपमा प्रख्यात छ । यहाँ सामुदायिक वनमा निजी हात्तीमा पर्यटकलाई घुमाउने गरिन्छ । हात्ती चढेर दुर्लभ वन्यजन्तु हेर्न पर्यटक रुचाउँछन् । हात्तीमा क्षयरोग देखिएमा उपचार गर्न लामो समय लाग्ने  र खर्चिलो हुने चिकित्सक बताउँछन् ।

    सोमवार, भाद्र ८ २०७७१२:१७:०२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार