काठमाडौं । बागमती प्रदेश सरकारले भक्तपुर अस्पतालको मातहतमा ५ सय बेडको आइसोलेसन संचालनमा ल्याउने भएको छ । शनिबार प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ले अस्पतालको अनुगमन गरेका छन् ।
चागुँनारायण नगरपालिका वडा नं ७ को खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा आइसोलेसन संचालनको तयारी अघि बढाइने भएको हो । अनुगमनको क्रममा मन्त्री दुलालले ३ सय बेडको आइसोलेसनका लागि समन्वयको काम अघि बढाइने बताए । अहिले प्राधिकरणको तालिम केन्द्रमा २ सय बेडको कोरोना संक्रमित राख्न सकिने आइसोलेसन संचालनमा छ ।
भक्तपुर अस्पतालमा अहिले एनआइसीयू ६ र भेन्टिलेटरसहितको आइसीयू ६ बेड संचालनको तयारीमा रहेको छ । अहिले २० बेड भक्तपुर अस्पतालको कोभिड ब्लकमा र २ सय बेड खरिपाटीस्थित आइसोलेसनमा संचालनमा आइसकेको छ ।
खरिपाटीमा अब ३ सय बेडको आइसोलेसनको संचालनका लागि प्रदेश सरकारले काम अघि बढाएको हो । प्राधिकरणसँगको समन्वयमा थप ३ सय बेड थप गरेर ५ सय बेड पुर्याइने मन्त्री दुलालले बताए ।
यसअघि प्रदेश सरकारले सिन्धुपाल्चोक, दोलखा, रामेछाप र रसुवामा २५ शैयाको आइसोलेसन थप गर्नेगरी काम सुरु गरिसकेको छ ।। त्यस्तै, धादिङ, नुवाकोट र सिन्धुलीको सदरमुकाममा ५० शैया, भक्तपुर र मकवानपुरमा २०० शैयाको आइसोलेसन संचालनमा ल्याउनेगरी काम भइरहेको छ ।
प्रदेश सरकारले सिन्धुली, धादिङ र नुवाकोटमा ४ शैया, हेटौंडा र भक्तपुरमा १० शैयाको आइसीयु पनि संचालनमा ल्याइनेगरी काम अघि बढाइसकेको छ ।


मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।