बुधवार, कार्तिक १९ २०८३Nov 04 2026

  • TRENDING NOW :

बेँसीबाट लेक पुगे भेँडाका बथान

बेँसीबाट लेक पुगे भेँडाका बथान

मेगा खबर संवाददाता

१०, चैत्र २०७८
  • 1.7K
    SHARES

  • बेँसीबाट लेक पुगे भेँडाका बथान

    चिसो बढ्न थालेसँगै गत असोजकात्तिकमा लेकबाट बेँसी ल्याइएका दर्जनौ भेडी गोठका भेडाबाख्रा गर्मी बढेसँगै पुनः चरण क्षेत्र लेक तथा उच्च हिमाली भेगमा पुगेका छन् । 

    जाडो छल्न जिल्लाका विभिन्न स्थान तथा बेँसी ल्याइएका घुम्ती भेँडीगोठ यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आ–आफ्ना भेडाका बथान पु¥याएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा।रुपेश श्रेष्ठले बताए । । उनले भने, “जिल्लामा साना ठूला गरेर ३०० भन्दा बढी घुम्ती भेँडीगोठ रहेका र ती सबै बेँसीबाट चरण क्षेत्र लेकमा पुगिसकेका छन् ।” 

    सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायत ग्रामीण क्षेत्रमा भेडीगोठ छन् । विशेष गरी गुरुङ समुदायको  पुर्ख्यौली चलन तथा पेसाका रुपमा  भेडिगोठलाई हेरिन्छ । भेँडीगोठ वर्षेनी छ महिना लेक र छ महिना बेँसीमा राख्ने गरिन्छ । भेँडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूधपोखरी नजिकै थुर्जु तथा लमजुङ हिमालको काख लगायतका ठाउँसम्म पुग्ने गरेको भेँडीगोठालाको भनाइ छ । 

    अधिकांश भेँडीगोठ लेकतर्फ लागिसके पनि घलेगाउँका भेँडीगोठ भने बेँसीमै रहेको स्थानीय दिर्घराज घलेले बताए । उनका अनुसार घलेगाउँका दुई भेँडीगोठ रहेका छन् । जेठ महिनामा मात्र लेक जाने यहाँका भेँडीगोठ लमजुङ हिमालको काखमै रहेको ठुले लेकमा पुग्ने गर्दछन् । 

    बेँसीमा रहेका बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने भेँडाको ऊन निकालेर विभिन्न राडीपाखी, बख्खुलगायत बनाउनका लागि प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेका छन्  । वार्षिक १० हजार किलो ऊन निस्कने र ऊनको मूल्य प्रतिकिलो रु ३०० रहेको छ । वार्षिक १६० मेट्रिक टन भेडाको मासु उत्पादन हुन्छ । 

    मासु बिक्रीबाट रु आठ करोड आम्दानी हुने गरेको उक्त केन्द्रका प्रमुख डा श्रेष्ठले बताए । त्यस्तै उनका अनुसार वार्षिक घुम्ती भेँडीगोठमा रहेका बाख्राको मासु १२० मेट्रिक टन तथा घुम्ती र घरमा पालिएका बाख्रा गरी वार्षिक एक हजार २०० मेट्रिक टन मासु उत्पादन हुँदा रु ६० करोड आम्दानी हुने गरेको छ । 

    बिहिवार, चैत्र १० २०७८१०:५७:४७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार