चितवन । माइतीमा गएर छमछम नाच्ने तीजको दिन आज कोरोना सङ्क्रमणले निषेधाज्ञाका कारण यहाँका महिलाहरु घरबाट बाहिर निस्कन पाएका छैनन् । माइती, मावली जाने त कुरै भएन चोकसम्म पनि निस्कन र भेटघाट गर्न नपाएपछि तीज खल्लो भएको छ ।
माइतीमा आमा र दिदीबहिनीसँग रमाउने तीजमा घरमै रत्यौलीमा झैँ सासू, देवरानी र जेठानीसँग नाचेर तीज मनाउन महिलाहरु बाध्य छन् ।
भरतपुर महानगरपालिका–१० की ८४ वर्षीया विष्णुमाया गौतमले जीवनमा पहिलो पटक यस्तो तीज देखेकी हुन् ।
उनको जीवनमा फरकफरक तीज देखिए तर यस वर्ष सुनसान भयो ।
छोरी, नातिनीलाई बोलाएर एक छाक खुवाउन परै जावस् घरबाहिर पनि निस्कन नपाएको उनको भनाइ छ ।
बाल्यकाल, युवा र बूढो हुँदै जाँदा तीजको पारा फेरिँदै गए पनि सुनसान चाहिँ यही वर्ष भएको गौतम बताउछिन् ।
उनले भनिन् “बाँच्यो भने अर्को वर्ष रमाइलो गरी तीज मनाउँला ।”
कोरोना रोगका कारण निषेधाज्ञा भएको र तीज मनाउन नपाएको उनलाई थाहा छ ।
तीजको दिन आज जिल्लाका शहरी र ग्रामीण क्षेत्र भरिभराउ हुन्थे । रङ्गीचङ्गी कपडामा बालिकादेखि वृद्धासम्म रमाउने गर्दथे । गाउँ र शहरका ठाउँठाउँमा टेण्ट लगाएर तीज गीतका कार्यक्रम गरिन्थ्यो ।
पाँच वर्षअघि निकै भड्काउ तीज हुन थालेपछि स्थानीय प्रशासनले नियन्त्रण गर्नुपरेको थियो ।
एक महिना अघिदेखि दरका नाममा भोज भतेर हुने गरेको थियो । स्थानीय रेडियोले प्रायोजक खोजेर महँगा पुरस्कार राखेर प्रतियोगिता गर्ने गर्दथे ।
स्थानीय कालिका एफएम र टेलिभिजनका निर्देशक दीपक पौडेलका अनुसार आजका दिन नजिकैको शिव मन्दिरमा तीज गीत महोत्सव गर्ने गरिएको थियो ।
विसं २०५९ सालमा रेडियो स्थापना भए यता बर्सेनि आजका दिन भव्य कार्यक्रम गरेको उनी बताउँछन् ।
पौडेलले भने “पाँच वर्षअघि सम्म रेडियो परिसरमै ठूलो राशिको पुरस्कार राख्थ्यौँ ।
पछि प्रशासनले रोक लगाएपछि महोत्सव गर्न थाल्यौँ ।”
पुरस्कारको राशि प्रथम हुनेलाई रु ६० हजारसम्म दिँदा ११० समूह सहभागी भएको उनले स्मरण गरे ।
त्यतिबेला चितवन, नवलपरासीसँगै छिमेकका जिल्लाबाट पनि प्रतियोगी आउँथे । अहिले भने सुनसान छ ।
खिचेर सामाजिक सञ्जालमा पठाएका नाच, गीत टिभीमा प्रसारण गरिरहेको उनले बताए ।
भरतपुर महानगरपालिका उपप्रमुखसमेत रहनुभएकी नेपाल महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह ठकुरी रोगको सङ्क्रमणका कारण तीज मनाउन नपाएको बताइन् । उनका अनुसार विगतका वर्षमा जिल्लाको मुख्य बजार नारायणगढमा स्टेज बनाएर भव्य कार्यक्रम गरिन्थ्यो ।
वडादेखि नगर, क्षेत्र र जिल्लाले दर खुवाउने कार्यक्रमसमेत गर्ने गर्दथे ।
उनले भनिन् “सम्भवतः जिल्लामा सबैभन्दा ठूलो सहभागिता हाम्रो हुन्थ्यो ।”
सासू, ससुरा र श्रीमानसँगै परिवारदेखि सरकारका काम कुरालाई गीतको भाकामा छेड हान्दै र प्रश्रय दिँदै आ–आफ्ना गीत महिलाहरुले गाउने गर्दथे ।
अखिल नेपाल महिला सङ्घ चितवनका अध्यक्ष सङ्गीता भट्टराई आफ्नो जीवनमा पहिलो पटक यस्तो तीजमा रमाउनु परेको बताछिन् । रोगको सङ्क्रमणको बाध्यता बुझेकै कारण जे जस्तो अवस्था छ त्यसैमा रमाउन उनले आग्रह गरीन् ।
विगतका तीजमा वडादेखि जिल्ला तहसम्मले गरेको रमाइलो सम्झँदै अहिले घरमै बसेर तीज मनाउनुको विकल्प नभएको उनले बताइन् ।
जिल्लाका छ स्थानीय तहमा निषेधाज्ञा जारी गरिएकाले घरबाट बाहिर निस्कन मिल्दैन ।
सबै घरघरमै बसेर तीज मनाइरहेका छन् । बुहारीहरुले सासूसँग र सासूले बुहारीसँग नाचेर यस वर्ष घरघरमा तीज मनाउनुपरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण वर्षदिनमा आउने महिलाहरुको ठूलो पर्व तीज खल्लो भएको छ ।
तैपनि रोगको सङ्क्रमणका कारण सबैले भनेका छन्, “बाँचिबसे अर्को वर्षको तीज धुमधाम साथ मनाउँला ।”
नजिक माइती भए पनि रोगको डरले छिमेकीले के भन्लान् भनेर धेरैले छोरी बोलाउन र जान आँट नगरेको भरतपुरकी शारदा शर्माले बताइन् । हिँडडुलमा नै रोक लगाइएको छ ।
समूहमा उठबस गर्न सम्भव नै नहुने भएकाले राति दर खाएका महिलाहरु आज बिहानदेखि घरमै सामाजिक सञ्जालमा रमाएर यस वर्ष तीज मनाइरहेका छन् ।
धेरैले घरमै गरिएका नाचगानका तस्बिर र भिडियो सामाजिक सञ्जालमा अपलोड गरेको देख्न सकिन्छ ।
एयधभचभम द्यथ इचकयल क्ष्लायतभअज
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।