बलेवा । उच्च अदालत पोखराको बागलुङ इजलासले नगरवासीलाई शुद्ध पानी खुवाउन आदेश दिएको छ ।
मङ्गलबार भएको बहसपछि अदालतले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नाउँमा शुद्ध पानी खुवाएर जनताको जीउधनको सुरक्षा गर्न भनेको हो ।
सात दिनभित्र नाली, खेतलगायतको पानी वितरण पूर्णरूपमा रोकेर शुद्ध खुवाउनसमेत आदेश दिएको हो ।
साथै सो अनुरूप शुद्ध पानी खुवाए नखुवाएका बारे प्रमुख जिल्ला अधिकारी र बागलुङ नगरपालिकाले अनुगमन गर्न पनि आदेश दिइएको छ । अदालतले १० दिनभित्र बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाई लिखित जानकारीसमेत पेश गर्न भनेको छ । अनुगमन गरेको प्रतिवेदनसमेत अदालतमा लिखितै पेश गर्न भनिएको छ ।
दुई महिनादेखि बागलुङ नगरमा नियमित पानी वितरण भएको छैन । वितरण भएको पानीसमेत नाली र खेतको पठाइएको थियो ।
उपभोक्ताले हिलाम्मे पानी खानुपरेपछि हैरानी थिए । उक्त समस्यापछि अधिवक्ता रमेशबहादुर खड्काले नगरवासीलाई शुद्ध पानी खुवाउन, गैरकानूनीरूपमा सञ्चालित संस्थाहरू खारेजीलगायतको माग गर्दै रिट निवेदन दिएका थिए ।
मङ्गलबार मुख्य भई काम गर्ने न्यायाधीश मोहनबहादुर कार्की र न्यायाधीश द्वारिकामान जोशीको संयुक्त इजलासले उक्त आदेश दिएको हो । मङ्गलबार रिट निवेदनको तर्फबाट अधिवक्ता खड्कासहित राम शर्मा, हरिकृष्ण गौतम, अखिलनाथ शर्मा र बद्रीप्रसाद शर्माले बहस गरेका थिए
जिल्ला प्रशासनको तर्फबाट सहन्यायाधीवक्ता डा गोपीचन्द्र भट्टराई, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद निउरे, काजीगाउँले श्रेष्ठ र भूमिश्वर गौतम तथा बागलुङ नगरपालिकाको तर्फबाट अधिवक्ता हरिप्रसाद शर्माले बहस गरेका थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।