काठमाडौं। कोरोना संक्रमण बाट थप २ मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएका नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ ।
नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गरे ।
गिरीको केही समय अगाडि युनिभर्सल मेडिकल कलेज भैरहवामा पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको थियो । त्यसपछि श्वासप्रश्वासमा समस्या देखिएको र पुनः मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
त्यसपछि बुटवलको कोरोना अस्पतालमा एक दिन भर्ना भएर उपचार गराएका गिरीलाई थप उपचारका लागि पाटन अस्पताल लगिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।
त्यस्तै,कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ ।
तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।
उनलाई साउन २१ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा अस्पतालका सञ्चालक डा। पदम खड्काले जानकारी दिए ।
डा. खड्काले भने, ‘क्रिटिकल अवस्थामा ल्याइएको थियो । अस्ति स्बाब टेस्टका लागि पठाइएको थियो । हिजो राति मृत्यु भयो, बिहान कोरोना पोजेटिभ भएको जानकारी आएको छ ।’
अन्य अस्पतालले भर्ना लिन नमानेपछि त्यो अस्पताल पु¥याइएको आफन्तले बताएको अस्पताल स्रोतले जानकारी दिएको छ ।शव व्यवस्थापन र कडाइ कसरी गर्ने लगायतका निर्णय गर्न अहिले प्रदेश स्तरीय सीसीएमसीको बैठक बसिरहेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
बिहान प्रदेश स्वास्थ्य निर्देशनालयले ठेगाना नखुलेको ५० र २५ वर्षीयामा कोरोना संक्रमण भएको बताएको थियो । तिनैमध्येकी ५० वर्षीया महिलाको मृत्यु भएको हुन सक्ने भएकाले थप जानकारीका लागि अस्पताल गइरहेको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र संयोजक नवराज शर्माले जानकारी दिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।