काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वनजिक गरेको हो । बोर्डका अध्यक्ष प्रा.डां चन्द्रमणि पौडेलका अनुसार विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो ।
परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेकोमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणिकरण गरिएको छ ।
बोर्डले नतिजा प्रकाशनसँग सम्बन्धित सम्पूर्ण काम साउन १९ गते नै सम्पन्न गरेको थियो । एसईईका परीक्षा नियन्त्रक रामराजा खकुरेलले नतिजाको काम सकेर बोर्डमा जानकारी गराएका थिए। तर त्यतिखेर नतिजा सार्वजनिक गरेपछि कार्यालयमा सेवाग्राहीको चहलपहल बढ्ने र कोभिड १९ को संक्रमण फैलने त्रासले नतिजा रोकिएको थियो ।

तर नतिजाको काम सकेपनि सार्वजनिक गर्न ढिलो भएको भन्दै गुनासो बढेपछि शिक्षा मन्त्रालयको सहमतिमा सोमबार सार्वजनिक गरिएको हो। बोर्डले शुरुमा चैत ६ गतेको लागि परीक्षाको तालिका सार्वजनिक गरेको थियो। तर कोभिड १९ को संक्रमण बढ्न लागेको भन्दै अघिल्लो दिन मात्रै सरकारले परीक्षा स्थगित गरेको थियो।
परीक्षा सञ्चालनको मिति कुर्दाकुर्दै अवस्था सहज नहुने देखिएपछि सरकारले यो पटक सम्बन्धित विद्यालय आफैले विद्यार्थीको मूल्यांकन गरेर नतिजा दिने तर त्यो नतिजालाई बोर्डले प्रमाणिकरण गरेर सार्वजनिक गर्न पाउने निर्णय गरेको थियो । परीक्षा सम्बन्धि अन्य विवरण राष्ट्रिय परीक्षा बोर्डको वेभसाइटमा राखिने बोर्डले जनाएको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।