बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने, कसरी लिने पुनः श्रम स्वीकृति ?

आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने, कसरी लिने पुनः श्रम स्वीकृति ?

  • 1.2K
    SHARES

  • आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने, कसरी लिने पुनः श्रम स्वीकृति ?

    सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ ।

    वैदेशिक रोजगार विभाग अन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृति जारी हुनेछ । श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाइ छिटो, छरितो र  पारदर्शी रुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको कार्यालयले जनाएको छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालले जानकारी दिए । 

    कसरी लिने पुनः श्रम स्वीकृति?

    पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेभसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेभसाइटमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली गएर पनि खोल्न सकिनेछ ।

    श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नम्बर र आवेदन गर्दाको युजर एकाउन्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोबाइल नम्बर र इमेल ठेगाना अनिवार्य रुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

    अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकाले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

    कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन् । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजारभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

    आइतवार, माघ २ २०७८१०:४२:३७

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार