काठमाडौं, दसैँमा घर झिलिमिली पार्नेदेखि मन्दिरमा पूजाआजा र बजारको चहलपहलसम्म—चाडपर्वको रौनकमा बत्तीले पनि उत्तिकै महत्त्व राख्छ । यही बेला विद्युत् आपूर्तिमा समस्या नआओस् भनेर नेपाल विद्युत् प्राधिकरणले विशेष तयारी थालेको छ।
दसैँभर विद्युत् सेवा नियमित राख्न प्राधिकरणले देशभरका वितरण केन्द्रलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। कतै बत्ती गइहाले तत्काल मर्मत गरेर सेवा सञ्चालन गर्न प्राविधिक टोलीसमेत तयारी अवस्थामा राख्न भनिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकालले शुक्रबार विभिन्न कार्यालय तथा वितरण केन्द्रका प्रमुखहरूसँग भर्चुअल बैठक गरी विद्युत् आपूर्ति सहज बनाउन निर्देशन दिएका हुन् ।
प्राधिकरणले प्रसारण लाइन र वितरण प्रणालीको निरीक्षण तथा मर्मतसम्भार समयमै सक्न, विद्युत् आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न र उपभोक्ताका गुनासा बेवास्ता नगर्नसमेत निर्देशन दिएको छ । ‘नो लाइट’ सेवामा आउने फोन उठाएर समस्या देखिएलगत्तै प्राविधिक टोली परिचालन गर्न पनि भनिएको छ ।
त्यस्तै, चाडपर्वमा विद्युत् दुर्घटनाबाट जोगिन तार तथा विद्युतीय उपकरणको अवस्था जाँच गर्न र समस्या देखिए आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।