काठमाडौँ, नगर विकास कोषले रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आवेदन आह्वान गरेको छ।
कोषले सोमबार सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट दरखास्त मागेको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र नगर विकास कोष, नयाँ बानेश्वरमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् ।
कार्यकारी निर्देशकका लागि अर्थशास्त्र, व्यवस्थापन, चार्टर्ड एकाउन्टेन्सी वा इन्जिनियरिङमध्ये कुनै विषयमा स्नातकोत्तर गरी सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्ष वा स्नातक गरी कम्तीमा सात वर्षको अनुभव हुनुपर्नेछ ।
आवेदकको उमेर दरखास्तको अन्तिम मितिसम्म ३५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । दरखास्तसँगै नागरिकता, शैक्षिक योग्यता, तालिम तथा अनुभवका प्रमाणित कागजात पेस गर्नुपर्नेछ। साथै बढीमा ५ हजार शब्दको व्यावसायिक योजनासहितको कार्यपत्र दुई प्रति बुझाउनुपर्नेछ ।
आवेदन दस्तुर ३ हजार रुपैयाँ तोकिएको छ । कार्यकारी निर्देशकको पारिश्रमिक तथा अन्य सुविधा नगर विकास कोष नियमावली अनुसार हुने जनाइएको छ ।
दरखास्त फाराम, आवश्यक कानुनी व्यवस्था तथा व्यावसायिक योजनाको ढाँचा कोषको वेबसाइटबाट प्राप्त गर्न सकिनेछ। कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तथा स्थान भने अन्तिम सूची प्रकाशनपछि तोकिने कोषले जनाएको छ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।