बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मेलम्ची खानेपानी आयोजनाःदोस्रो चरणको निर्माणका लागि तयारी

मेलम्ची खानेपानी आयोजनाःदोस्रो चरणको निर्माणका लागि तयारी

मेगा खबर संवाददाता

३२, श्रावण २०७७
  • 4.3K
    SHARES

  • मेलम्ची खानेपानी आयोजनाःदोस्रो चरणको निर्माणका लागि तयारी

    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पहिलो चरणको पानी काठमाडौँ ल्याउन सुरुङमा त्रुटि सच्चाउने काम भइरहँदा दोस्रो चरणको निर्माणका लागि आवश्यक तयारी शुरु गरिएको छ । 

    दोस्रो चरणको निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गरिने भएको छ । सो अध्ययनका लागि सम्बन्धित पालिकाहरुले सहमति दिने बताइसकेका छन् । मेलम्चीको दोस्रो चरण याङग्री र लार्केमा परामर्शदाताले यस अघि नै अध्ययन सकेर मेलम्ची खानेपानी विकास समितिलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसपछि आयोजना निर्माणस्थलको वातारणीय प्रभावसम्बन्धी अध्ययन गर्नुपर्ने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । उनले भने, “त्यसका लागि पालिकाको सहमतिपत्र चाहिन्छ ।”

    दोस्रो चरणको डिजाइन गर्ने परामर्शदाताले सन् २०१८ मा नै आफ्नो प्रतिवेदन समितिलाई बुझाएको छ । यसमा विज्ञसँग एक पटक छलफल भइएको सूचना अधिकारी पन्तले जानकारी दिए ।
    यहाँका पालिकाले सहमति दिएपछि त्यो वातावरण प्रभाव मूल्याङ्कन वातावरण मन्त्रालय पठाइने उहाँको भनाइ छ । डिजाइन दुई वर्ष पहिले सकिएको भए पनि त्यतिबेला स्थानीयवासीले कतिपय माग पहिले पूरा हुनुपर्ने बताएका थिए । अहिले ती मागमध्ये कतिपय आयोजना कार्यालय र कतिपय सम्बन्धित कार्यालयबाट कार्यान्वयन गर्ने सहमति भएको छ । 

    सडक निर्माण विभागले गर्ने र अरु कतिपय पूर्वाधार सम्बन्धित कार्यालयले तथा कतिपय समितिले नै गरिरहेको छ । त्योअनुसार त्यहाँका पालिका सकारात्मक रहेकाले सहमति पत्र दिने उनको भनाइ छ । उनले भन, “वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत हुँदा डिजाइन पनि स्वीकृत हुन्छ र ठेक्का सकिनेछ ।” 

    दोस्रो चरणको निर्माणका लागि अहिलेसम्म डिजाइन फाइनल भएको र त्यसको लागत पनि यकिन भइसकेको उनले बताए। सो आयोजनाको लागत झण्डै रु पाँच अर्ब लाग्ने उल्लेख छ ।
    मेलम्चीको पहिलो चरण सम्पन्न भएपछि दोस्रो चरणमा पनि सहयोग गर्ने एशियाली विकास बैङ्कले प्रतिबद्धता जनाएको थियो । मेलम्चीबाट ५१ करोड लिटर पानी ल्याउने भन्ने पहिले भएको सहमतिमा उल्लेख छ । बैङ्कले पहिलो चरणमा गरेको प्रतिबद्धताअनुसार सहयोग गर्छ भन्ने समितिको विश्वास छ । 

    पहिलो चरणको पानी काठमाडौँ आएपछि ऋण अनुदान गर्ने भनी सहमति भएको थियो । समितिले सुरुङमा भेटिएका त्रुटि सच्चाएर मेलम्ची खोलाको पानी ल्याउने तयारी गरेको छ । उहाँले भन्नुभयो, “अबका केही महिनामा नै त्रुटि सच्चाइएपछि सुरुङमा पानी पुनः पठाइनेछ ।”

    पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी काठमाडौँ ल्याइएपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७÷१७ करोड लिटर पानी राजधानी ल्याउने समितिको लक्ष्य छ । मेलम्ची खोलाको मुहानस्थल अम्बाथानबाट याङग्री झण्डै आठ र लार्के दुई किमी दूरीमा रहेको छ । समितिले सुन्दरीजलमा प्रशोधन केन्द्र निर्माण गर्नेसम्मको काम गर्नेछ भने सुन्दरीजलबाट उपत्यकामा पानी वितरणको काम भने काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गर्ने जनाइएको छ । 

    आयोजना यसअघि कार्यरत इटालीयन निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको खानेपानी आयोजनाको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको छ । गत वर्ष असोजमा यो कम्पनीसँग सहमति भएको थियो । आयोजनास्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँले काम गर्दै आएका छन् । 

    सरकारले बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने गरी कम्पनीसँग सम्झौता गरेको थियो । कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन शून्य दशमलव १५ प्रतिशतले लाभांश दिन पनि सम्झौतामा उल्लेख छ । बन्दाबन्दीको समयमा जनशक्ति र निर्माण सामग्री ल्याउन गाह्रो भएकाले काम सुस्त भए पनि अहिले पुनः काम तीव्र गतिमा भइरहेको छ । सरकारसँग भएको सहमतिअनुसार ‘डेडबस’ निर्माण आगामी पुससम्ममा सम्पन्न गर्नुपर्नेछ ।

    आइतवार, श्रावण ३२ २०७७०७:५६:४०

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार