काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदी गाउँका पहिरोपीडितको घर प्रदेश सरकारले बनाइदिने भएको छ । शनिबार दिउँसो एक टोलीसहित सिन्धुपाल्चोक पुगेका मुख्यमन्त्री डोरमणी पौडेलले पीडितको घर सरकारले बनाइदिने प्रतिवद्धता गरेका हुन् ।
मुख्यमन्त्री पौडेलसहित सामाजिक विकासन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल, प्रतिनिधिसभा सांसद शेरबहादुर तमाङ, बागमती प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल लगायतको टोली शनिबार लिदी गएको थियो ।
मुख्यमन्त्री पौडेलले तत्काललाई अभाव भएका सबै वस्तु उपलब्ध गराउने पनि बताएका छन् । त्यस्तै, सोही जिल्लाबाट निर्वाचित भएका सामाजिक विकासमन्त्री दुलालले संघीय सरकारले जग्गा उपलब्ध गराएसँगै एकीकृत बस्ती बसाउने निर्णय गरेको र सोहीअनुसार लिदीका पीडितहरूको पनि नयाँ बस्ती बन्ने बताए । ‘भूमि आयोगसमेत गठन भइसकेको अवस्था छ । असुरक्षित रूपमा बसोवास गरिरहेकाहरूलाई जग्गा खोजेर स्थानान्तरण गरिनेछ ।’ उनले भने ।
‘तत्कालका लागि अस्थायी आवासको व्यवस्था गरिदिने र वर्षायाम सकिएलगत्तै घर बनाइदिने पौडेलले जनाएका छन् । ‘सुरक्षित ठाउँमा स्थानान्तरण गर्नुको विकल्प छैन,’ मुख्यमन्त्री पौडेलले भने, ‘हामी स्थानान्तरण मात्र होइन, प्रदेश सरकारले जीविकोपार्जन गर्न रोजगारीसमेत सिर्जना गरिदिनेछ ।’
पहिरोका कारण लिदीका एक सय ७२ घरधुरीमध्ये ३६ घर पूर्ण रूपमा क्षति भएको छ । हालसम्म १६ जनाको शव फेला परेको छ भने २३ जना अझै बेपत्ता छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।