काठमाडौं । सत्तारुढ दल नेपालक कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा गएको पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले स्तब्ध भएको बताएका छन् ।
शुक्रबार बिहान ६ बजे गएको पहिरोमा बेपत्ता भएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न समेत उनले पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आह्वान गरेका छन् ।
उनले भनेका छन्,‘उक्त घटनामा बेपत्ता हुनुभएकाहरुको खोजी र उद्दार कार्यमा जुट्न पार्टीका नेता तथा कार्यकर्ता, युवा, स्थानीय बासिन्दा, जनप्रतिनिधि, स्वयम्सेवी र सुरक्षाकर्मीलाई आव्हान गर्दछु । पहिरोमा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’्
उनले भनेका छन्,‘अविरल वर्षापछि आएको पहिरोका कारण शुक्रबार बिहान सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–२, लिदीमा १३ घर पुरिँदा ठूलो मानवीय र धनमालको क्षति भएको छ । उक्त पहिरोमा परी ७ जनाको मृत्यु र झण्डै तीन दर्जन बेपत्ता भएको घटनाले मलाई स्तब्ध बनाएको छ ।’
साथै, उनले कालीकोट जिल्लाको महावै गाउँपालिकामा गएराति आएको पहिरोमा परी एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने मकवानपुरमा पनि एक जनाको मृत्यु भएकोप्रति समवेदना व्यक्त गरेका छन् । उनले भनेका छन्,‘सिन्धुपाल्चोक, कालीकोट र मकवानपुर जिल्लामा पहिरोमा परी मृत्यु हुनुभएकाहरुमा पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’
‘बर्षायाममा पहाडी भेगमा हुने गरेका यसप्रकारका घटनाहरुको न्यूनीकरणका लागि दीर्घकालिन समाधान खोज्न र यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपील गर्दछु ।’ प्रचण्डले भनेका छन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।