चौतारा। सिन्धुपाल्चोक को लिदीबाट पहिलो चरणमा चार सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ पठाइएको छ ।
अन्यको उद्धार जारी रहेको जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।
पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि आएको र चार नेपाली सैनिक र एका इञ्जिनीयरलाई त्यसतर्फ पठाइएको छ । त्यस्तै रेडक्रस पनि राहत सामग्री लिएर घटनास्थल जाँदै गरेको रेडक्रस सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतिले जानकारी दिए । जुगल गाउँपालिका– २ लिदीमा आज बिहान भीषण पहिरो जाँदा कम्तीमा ३५ जना बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले २८ घर पुरेको स्थानीयवासीको भनाइ छ ।
आज (शुक्रबार) बिहान करीब साढे ६ बजेतिर गएको पहिरामा पुरिएकामध्ये पाँच घरका मानिस सम्पर्कविहीन भएको जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । स्थानीयवासी पेशलाल दोङका अनुसार दुई जनाको शव देखिएको छ । माथिबाट पहिरो आइरहेकाले खोज तथा उद्धारमा समस्या भएको उनले बताए । पहिरामा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयवासीले सम्पर्कविहीनको खोज र उद्धार गर्न सकेका छैनन् ।
भौगोलिक विकटता र भिरालो जमीन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमीन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।
नजीकै अर्को कुनै गाउँ नभएको र त्यो गाउँ नै पहिराले बगाएकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले कात्तिकेबाट प्रहरी उद्धारका लागि गए पनि लामो बाटो पार गर्नुपरेकाले प्रहरी घटनास्थल पुग्न समय लाग्ने बताए ।
यही साउन २३ गते सो ठाउँका बासिन्दाले बस्ती जोखिममा परेको भनी जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएको स्थानीयवासी आशबहादुर तामाङले बताए । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने , ‘प्रशासनले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।’
तामाङका अनुसार २६ मेगावाटको बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणका क्रममा विस्फोटन गर्दा जमीन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका पाँच सयभन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौँ’, तामाङले भने ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।