काठमाडौं । खानेपानी मन्त्री बिना मगरले शहरी खानेपानी तथा सरसफाई आयोजनाका चार उपभोक्ता संस्थालाई बुधबार सवारी साधन हस्तान्तरण गर्नुभएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत रहेको शहरी खानेपानी तथा सरसफाई आयोजनाले सहरी क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाका चार वटा उपभोक्ता संस्थाहरुलाई गाडी हस्तान्तरण गरेको हो । मन्त्री मगरले दोलखास्थित चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, कञ्चनपुरको भीमदत्त नगरपालिकामा अवस्थित सिद्धनाथ बैजनाथ, सुर्खेतको शुभघाट र खोटाङको दिक्तेलमा अवस्थित रम्बा खोला माझखोला साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई गाडीको चाबी हस्तान्तरण गरिन् ।
सहरी खानेपानी आयोजना अन्तर्गत विभिन्न जिल्लाका दश वटा सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रम रहेकोमा बुधबार चारवटा संस्थालाई हस्तान्तरण गरिएको हो ।
सवारी साधन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताको साना भन्दा साना समस्यालाई सम्बोधन गर्दै आयोजना सम्पन्न गर्नमा उपभोक्ता संस्थाहरुको भूमिका ज्यादै महत्वपूर्ण हुने बताइन् । उनले देशैभरि रहेका खानेपानी आयोजनाहरुलाई सम्पन्न गरी जनताका आधारभूत आवश्यकता पुरा गर्न उपभोक्ता संस्थाहरुको भूमिका महत्वपूर्ण हुने र यसका लागि मन्त्रालयले सहयोग र सहजीकरण गरिरहने बताइन् ।
‘उपभोक्ता संस्थाहरु जनताका समस्याहरु बुझ्ने अभिन्न अंग हुन् ।’ मन्त्री मगरले भनिन्, ‘ उपभोक्ता संस्थाहरुले बेतलबी रुपमा काम गरिरहेका छन् । हामी त्यस्ता उपभोक्ता संस्थाहरुलाई सहजीकरण र सहयोग गरिरहने छौं ।’
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।