बिहिवार, कार्तिक २० २०८३Nov 05 2026

  • TRENDING NOW :

मनसुन सक्रिय : शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने

मनसुन सक्रिय : शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने

मेगा खबर संवाददाता

२४, श्रावण २०७७
  • 2.0K
    SHARES

  • मनसुन सक्रिय :  शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने

    काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ ।

    केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै भनेको छ, ‘साउन २४ गते रातिबाट २–३ दिनसम्म नेपालमा मनसुन सक्रिय भै देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षासमेत हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

    ‘दुई–तीन दिनपछि मनसुनी प्रभाव कम हुन्छ’

    हाल मनसुन न्युन चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ छ । न्युन चापीय रेखा जहाँ पर्छ त्यहाँ वर्षा हुन्छ ।

    मौसमविद शान्ति कँडेलका अनुसार मनसुनी रेखा नेपालमाथि आइपुगेमा देशभर मनसुनी प्रभाव पर्ने छ । तर, लगातार झरी परिरहने छैन ।

    मौसमविद कँडेलले अनलाइनखबरसँग भनिन्, ‘मनसुनी रेखा नेपाल नजिक सर्दै छ । यसले लगातारको झरी पार्ने, २४ सै घण्टा पानी पार्ने अवस्थाचाहिँ छैन । राति अलिकति बढी प्रभाव पार्ने देखिन्छ ।’ उनले दुई–तीन दिनपछि बिस्तारै मनसुनी प्रभाव कम हुँदै जानसक्ने बताइन् ।

    सतर्कता अपनाउन अनुरोध

    शनिबार बिहान प्रदेश नं. २ मा र प्रदेश नं. ५ का केही भू–भागहरुमा आंशिक बदली छ भने बाँकी भागहरुमा समान्यदेखि पूर्ण बदलीको अवस्था छ । बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ ।

    शनिबार प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको समेत हुनसक्ने सम्भावना छ । ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

    शनिवार, श्रावण २४ २०७७०९:५१:१२

    मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।

    सम्बन्धित समाचार