नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालयको टोली लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ ।
सदरमुकाम सिमकोटबाट लाप्चासम्म गाडीमा पुगेको टोली चार दिन पैदल हिँडेर झण्डै पाँच हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।
नाम्खा गाउँपालिका–६ लिमी लाप्चामा रहेको १२ नं स्तम्भको अध्ययन गरेर उक्त टोली हिल्सा पुगेको हो । मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको संयोजकत्वमा रहेको सीमा अध्ययन समितिका सदस्य र नाम्खा–६ का स्थानीयवासी लिमी लाप्चा पुगेर अध्ययनपछि हिल्सामा रहेको सीमास्तम्भको अध्ययनका लागि यहाँ पुगेका हुन् ।
टोलीमा संयोजक आचार्यसँगै सदस्य उमेशराज जोशी, किशोर श्रेष्ठ, प्रदीपकुमार पाल, सुशील डङ्गोल, दयानन्द जोशी र कपिल कटुवाल हुन् ।
नाम्खाको किटखोलामा रहेको ५ नं सीमास्तम्भको अध्ययन गर्न टोली हिल्सातर्फ गएको छ । नाम्खाको वडा नं ६ लिमीका तीन गाउँ जाङ, तिल, हल्जीबाट प्रतिनिधित्व गरेर स्थानीयवासी टोली पनि लिमी लाप्चाको १२ नं सीमास्तम्भमा पुगेका थिए । मन्त्रालयको उक्त टोलीले भदौ २७ गते सिमकोटबाट लाप्चातर्फ प्रस्थान गरेको थियो ।
हुम्लामा पर्ने नेपाल–चीन सीमाका १५वटै स्तम्भको अध्ययन गर्ने गरी काम थालिएको टोलीका संयोजक एवं गृह मन्त्रालयका सहसचिव आचार्यले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।