बाग्लुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन यहाँको नेवार समुदायमा प्रचलित जात्रा र नाचहरु स्थगन गरिएको छ । भदौरे जात्राअन्तर्गतका सबै नाच यस वर्ष नदेखाउने निर्णय भएको शाक्य कल्याण समाज बागलुङका सचिव मञ्जुल शाक्यले जानकारी दिए। “समाजको बैठक बसेर यस वर्ष जात्रा र नाच ननिकाल्ने निर्णय ग¥र्यौँ”, उनले भने , “कोरोना महामारीका कारण उत्पन्न विषम स्थितिका कारण जात्रा रोक्नुप¥यो ।”
नेवार समुदायका कलाकारले वर्षेनी जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म लाखे, बास्सा, रोपाइँ, जोगी, होवा, घोडा, कटुवाललगायतका नाच प्रदर्शन गर्थे । लाखेनाच त घण्टाकर्ण पर्वदेखि तीजसम्मै देखाउने चलन छ । घण्टाकर्ण, गाईजात्रा पर्व भने सुरक्षा सावधानीसहित मनाइएको थियो । गाईजात्रामा वर्ष दिनभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा तःहामचा निकाल्नैपर्ने परम्परा भएकाले रोक्न नसकिएको नेपाल भाषा मंकाःखलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए ।
लाखेलगायत थोरै कलाकार भए पुग्ने नाच देखाउने सोच बनाइए पनि कोरोना सङ्क्रमणको जोखिम थप बढेकाले स्थगन गर्नु नै उचित भएको उहाँको भनाइ छ । समाज र खलः भएर परम्परागत नाचको संरक्षण गर्दै आएका छन् ।स्थिति ठिकठाक हुन्थ्यो भने अहिले बागलुङ बजारमा जात्राको रौनक छाउँथ्यो । तीन सय वर्षअघि भक्तपुरबाट आउँदासँगै ल्याएको जात्राको परम्परालाई नेवारहरुले जीवित राखेका छन् ।
भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमका रुपमा जात्रालाई लिइन्छ । भक्तपुर, धुलिखेल र भादगाउँबाट भित्रिएका नेवार जातिले बागलुङमा भदोरै जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटा बताउछन्। ।
जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको उनको भनाइ छ । जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग्य, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको छ । संरक्षण अभावमा कतिपय नाच भने हराएको नेवार समुदायका अगुवा बताउँछन् । यसै त परम्परा जोगाउनै मुस्किल भइरहेका बेला कोरोना महामारीले थप प्रतिकूलता निम्त्याएको छ ।
पुस्तान्तरणको अभावमा नागनागिनीसहित कतिपय नाच हराइसकेका छन् । पछिल्लो समय लाखे नाच्ने कलाकारको पनि खाँचो खड्किने गरेको छ । आउँदा वर्षमा भदोरै जात्राले निरन्तरता पाउने समाजका सचिव शाक्यले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।