साउन २०, काठमाडौं । काठमाडौं उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्याधिक भिडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।
कोरोनाको जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दुरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भिडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकाेमा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो ।
कार्यालयमा अत्यधिक भिडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भिड नियन्त्रण गर्न गाह्राे भएको एकान्तकुनामा रहेको कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताउनुभयो । काठमाडौं उपत्यकामा सङ्क्रमण बढिरहेकाले एकान्तकुनासँगै जगाती, चावहिल र ठूलो भर्याङ गरी चारवटै कार्यालयले सेवा बन्द गरेकाे उहाँले बताउनुभयो ।
कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले लकडाउनपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।
अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजस्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उहाँले बताउनुभयो ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।