२० साउन, काठमाडौं । साउन १३ गते कपन आकाशेधारा चौरमा बेवारिसे अवस्थामा कार्टुनमा राखिएको एउटा बच्चाको तस्वीर भाइरल भएको थियो ।
केयर बालगृहकी सञ्चालिका पुष्पा अधिकारीले १२ गते साँझ बेवारिसे अवस्थामा शिशु भेटिएको भन्दै प्रहरी र सञ्चारकर्मीहरुलाई खबर गरेकी थिइन् । त्यो खबर सार्वजनिक भएपछि देश–विदेशबाट सहयोग पनि आउन थाल्यो ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार शिशु बेवारिसे नभएको पाइएको छ । खाडी मुलुकबाट हालै उद्धार गरेकी एक महिलाले त्रिवि शिक्षण अस्पतालमा शिशुलाई जन्म दिएकी हुन् ।
उनले शिशुलाई आफूसँग राख्न नसकेर केयर बालगृहको जिम्मा लगाएकी थिइन् । संस्थाकी सञ्चालक पुष्पाले प्रहरीमा बेवारिसे बच्चा भेटिएको भन्दै निवेदन दिइन् र सहयोग लिन थालिन् ।
त्यो देखेपछि शिशुकी आमा आफैं बालगृह पुगिन् र बच्चा आफूलाई नै दिन माग गरिन् । प्रहरीले आमाको दाबी स्वीकार गरेको छ र बच्चा उनलाई जिम्मा लगाएको छ ।
जब शिशु बेवारिसे होइन भन्ने खुल्यो, बालगृह सञ्चालिका पुष्पा विवादमा तानिएकी छन् । उनीमाथि पैसा उठाउन झुटो प्रचार गरेको आरोपसमेत लागेको छ ।
जब शिशु बेवारिसे अवस्थामा भेटिएको खबर सार्वजनिक भयो, सहयोगी हातहरु अगाडि आएका थिए । अहिलेसम्म झण्डै ६ लाख रकम बालगृह सञ्चालिकाको हातमा परिसकेको थियो भने रकम उठ्ने क्रम पनि चलिरहेको थियो ।
संस्थालाई चन्दा उठाउने उद्देश्य हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीको स्रोतले बताएको छ । यसका लागि प्रहरीले संस्थासँग सम्बन्धित व्यक्तिको बैंक विवरण मगाएको छ । तर पुष्पाले भने आफूलाई पछि अफ्ठ्यारो नपरोस् भनेर बेवारिसे बच्चा फेला परेको भनेको बयान दिएकी छन् ।
घटनाबारे अनुसन्धान भइरहेको एसएसपी ज्ञवालीले बताए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।