श्रावण १५, काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले केहि साताअघि मात्रै बढुवा भएका दुई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
मन्त्रिपरिषदको २०७७ साउन १२ गतेको निर्णयअनुसार उनीहरू प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका थिए ।
दर्ज्यानी चिन्ह पाएसँगै दुवै एआइजीको पदस्थापन भएको छ । जसअनुसार शाहीको मानव स्रोत तथा प्रशासन विभाग र कार्कीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन भएको छ ।
शैलेश थापा प्रहरी महानिरीक्षक भएसँगै प्रशासन तथा मानव स्रोत विभाग रिक्त थियो । वरिष्ठतम् एआइजी तारिणीप्रसाद लम्सालको अवकाश भएपछि प्रतिष्ठानमा दरबन्दी रिक्त थियो ।
सोमबारको मन्त्रिपरिषद बैठकले दुबैको बढुवा सदर गरेसँगै पदस्थापनको निर्णय गरेको थियो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै आ-आफ्नो दक्षता अनुरुप थप उर्जासहित व्यावसायिक सेवाको अपेक्षा संगठनले लिएको बताए ।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले जिम्मेवारीप्रति उत्तिकै गम्भीर र इमानदार रहने साथै संगठनको नीति निर्देशन र आदेशप्रति सदैव कर्तव्यनिष्ठ रही संगठनको बृहत्तर हित र गरिमालाई थप उचाइमा लैजान मन, वचन र कर्मले कटिबद्ध रहेर काम गर्ने उनले बताए ।
यसैबीच, प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बुधबार जनाएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा बढुवा भएका शाही थिए ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।