काठमाडौं, ११ साउन ।लकडाउन खुकुलो भएपछिको अवधिमा मात्रै संक्रमितको संख्या १२ हजार नाघेको छ ।
लकडाउन हटेसँगै देशभर भीडभाड बढेको र कोरोना संक्रमितको संख्या १८ हजार नाघे पनि संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ सुस्त गतिमा गरिएकाले जोखिम अत्यधिक बढेको हो ।
भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताएका छन् ।
पहिलो पटक गत १ असारमा लकडाउन खुकुलो भएको थियो । गत ७ साउनदेखि सरकारले लकडाउन पूर्ण रूपमा हटाएको छ ।
लकडाउन खुकुलो हुँदा भौतिक दूरी कायम नहुने र संक्रमितसँग सम्पर्क हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने जनस्वास्थ्य विज्ञहरूको विश्लेषण छ । मुख्यतः काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनहरू गुड्न थालेका छन् । ती सवारी साधनमा चढ्ने यात्रुहरूको विवरण राखिएको छैन ।
जसले गर्दा यात्रुमध्ये कुनै व्यक्तिलाई संक्रमण भइहाले वा संक्रमण देखिएमा उनीहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ थप जटिल हुने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।