८ साउन, काठमाडौं । प्रधानमन्त्री ओलीले रामको जन्मभूमि अयोध्या नेपालमा रहेको अभिव्यक्तिबारे सांसदहरुले चासो देखाएका छन् ।
भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बिहीबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पुरातात्विक महत्वका स्थानहरुको संरक्षण सम्बन्धमा छलफल थियो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा केही सांसदहरुले सीताले बच्चा जन्माएको, सीता गुफा लगायत अयोध्या नेपालमा रहेको भन्दै यथार्थ के हो भन्ने अनुसन्धानबाट पत्ता लगाउनुपर्ने धारणा राखे ।
छलफलमा सहभागी सांसदहरुले प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिबारे सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका हुन् । सत्यतथ्य पत्ता लगाउनका लागि प्रधानमन्त्रीले भनेको पर्साको ठोरीमा उत्खनन गर्नुपर्ने कतिपय सांसदहरुको सुझाव छ ।
नेकपाको सांसद सरला कुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएका कारण त्यसबारे पुरातत्व विभागले उत्खनन गरेर यथार्थ बाहिर ल्याउनुपर्ने बताइन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले सत्यतथ्य प्रमाणित नभई प्रधानमन्त्रीले बोल्दा प्रश्न उठेको बताइन् ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद नारदमुनि रानाले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयलाई सत्यतथ्यमा पुर्याउन पुरातत्व विभागले अनुसन्धान र उत्खनन गरेर अगाडि बढाउनुपर्ने बताए ।
कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ, अहिले कत्तिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न गरे ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मिएका हुन् भनेर बोल्दा विरोध नगर्ने र प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मिएका हुन् भनेर बोल्दा चर्को स्वरमा विरोध गरेको ठीक नरहेको भन्दै उनले अनुसन्धानले त्यसलाई पुष्टि गर्नुपर्ने बताए ।
प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको उनको भनाइ छ ।
प्रधानमन्त्रीले रामबारे व्यक्त गरेको भनाइको आधार र अनुसन्धान कुन चरणमा छ भन्ने विषयमा सरकारले समितिलाई जवाफ दिनुपर्ने उनको माग छ ।
मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।