काठमाडौं । मित्रराष्ट्र चिनको खासा क्षेत्रमा रहेको केरुङ च्छो नामको पोखरीमा अविरल वर्षाको कारण पानी भरिन गई पोखरी फुट्न सक्ने सम्भावना रहेको मित्रराष्ट्र चिनको जानकारी प्राप्त भएको जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले सूचना जारी गरेको छ ।
चिनियाँ अधिकारीहरुबाट न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र यो पोखरी फुट्नसक्ने सम्भावना रहेको खबर प्राप्त भएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । ‘उनीहरुले आफ्ना नागरिकलाई भटाभट माथिल्लो भागमा सारिरहेका छन्’ प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने, ‘त्यही भएर हामीले पनि सतर्कता अपनाउनु पर्ने भएको छ ।’

केरुङ च्छो पोखरी फुटेमा भोटेकोशी नदीमा आकस्मिक बाढी आएर नदी किनारको बस्तीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्क रहन अपिल गरेको छ । साथै नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित ठाउँमा सार्न जिल्ला विपद् व्यवस्थापन समितिलाई निर्देशन दिइएको ढकालले बताए ।
नदी आसपासका बासिन्दालाई सडकभन्दा माथितिर आएर बस्न आह्वान गरिएको बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बताए । उनका अनुसार केरुङ च्छो पोखरी फुट्यो भने कल्पना गर्न नसकिने क्षति हुनेछ र सबैभन्दा बढी क्षति बाह्रबिसेमा हुनेछ ।

मेगा खबर डट कम मेगा सञ्चार प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको सम्पूर्ण अनलाइन समाचार पोर्टल हो । हामी सत्य, तथ्य र निश्पक्ष पत्रकारिताको मूल्य र मान्यतामा रहेर समाचार, शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, साहित्य, कला, विकास निर्माण लगायत क्षेत्रको यथार्थ चित्रण उतार्ने प्रयासमा सदैव लागि रहने प्रण गर्दर्छौँ ।